Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

खगेन्द्र नेउपाने

घुम्न डुल्न मनलाग्छ खल्ती खाली छ
ग्वालीभित्र लैनु गाई खेतमा बाली छ ।

तल्ला घरका भान्जा दाइ अष्ट्रेलिया गाका
आमेरिका जानपाउँदा ठूला मान्छे भाका
आफू भने देशैभित्र कहिं डुल्या छैन
खल्तीभित्र सुको छैन कामले भ्याईंदैन ।

डुल्न घुम्न त्यसै हुन्न पैसा चाहिंदो रैछ
हाकिम नेता हुँदा सित्तै घुम्न पाइँदो रैछ
मलाई पनि रारा तालमा घुम्न जाने मन छ
हाम्रा लागि भ्रमण बर्ष नामै मात्र बन्छ ।

घुम्नेहरु किन जान्छौ सिक्किम नैनीतालमा ?
संसार सुन्दर कहिं छैन जुन छ यो नेपालमा
तर मैले नेपाल पनि घुम्न पा को छैन
ऐंशेलु र चुथ्रो टिपी अझै खा को छैन ।

भ्रमण बर्ष सफल बनोस मैले नघुमे नि
हिमालपारि मुस्ताङ् मनाङ् चिसो नचुमे नि
बन्दिपुरले गौरीशंकर माया पाइरहोस
सारा नेपाल भ्रमण बर्ष पर्व छाइरहोस ।

तपाईको प्रतिक्रिया