Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरादह, १८ पुष । जनसमुदायलाई अपराध अनुुसन्धान, सरकारी वकील र प्रहरीको भुमिकालाई जानकारी गराउने उद्देश्यले समुदायमा सरकारी वकील तथा समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरिएको छ । वडा नं. १ को वडा कार्यालयमा सञ्चालन गरिएको कार्यक्रममा नगर भित्रका जनप्रतिनिधि, समाजसेवी, राजनितिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।

जिल्ला सरकारी वकील कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमक र गौरीगञ्जले संयुक्त रुपमा सञ्चालन गरिएको कार्यक्रममा सरकारी वकीलको सांगठनीक ढाँचा, अदालतका प्रकार र काम कर्तव्य अधिकार, मुद्दाका प्रकार, जाहेरी दिने तरिका, कानुनी प्रक्रिया अदालतबाट घट्नाको प्रकृति हेरी गरिने सजाय र जरिवाना का विषयमा सहजिकरण गरिएको थियो ।

सहायक जिल्ला न्यायधिवक्ता कल्याण प्रसाद पराजुलीले समाजमा भएका घट्ना र जनचेतनाको बारेमा सरकारी वकीलको भुमिका र इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी प्रमुख गणेश प्रसाद भट्टराईले प्रहरीको भुमिका विषयमा जानकारी गराउँदै कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा अपराध अनुसन्धान र अभियोजनमा सरकारी वकील र प्रहरीको भुमिका, फौजदारी न्याय प्रणालीको कार्यान्वयनमा समुदायको भुमिका र सम्भावित अपराध बाट बच्न पुर्याउनु पर्ने होशियारी का विषयमा कार्यपत्रमा उल्लेख गरिएको थियो ।

कार्यक्रममा उपमेयर गिता भेट्वाल, समाजसेवी मदन अधिकारी, योगराज दाहाल, सुर्य भट्टराई लगायतले अपराध अनुसन्धानका बारेमा राखेका जिज्ञासामा कार्यक्रमका सभापति जिल्ला न्यायधिवक्ता केशव प्रसाद पन्तले जवाफ दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य दिपक कार्कीले जनता लाई परेका समस्या निराकरण गर्न घर परिवार सचेत हुनुपर्ने बताउँदै घट्ना हुनु पहिले नै निराकरण को बाटो अभिभावकले खोज्नुपर्ने बताए । गौरादह नगरपालिका का मेयर रोहित कुमार शाहले नगरलाई समृद्ध बनाउन अपराध रहित समाज निर्माणको आवश्यकता रहेको धारणा राखे ।

प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक मौसम उदासले स्वागत मन्तव्य राखेको कार्यक्रममा जिल्ला सरकारी वकिलका नासु राम प्रसाद पोखरेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया