Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, १४ पुष । राष्टिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नागरिकता दिने विषयमा प्रमुख जिल्ला अधिकारीबिच एकरुपता नभएको बताएका छन् ।

७७ जिल्लाका सिडियोहरुबिच काम गर्ने फरक फरक शैलीका कारण नागरिकता प्राप्तिमा असर पुगेकोमा उनले जोड दिएका छन् ।

सोमबार राष्टिय महिला आयोगले गरेको नेपाली नागरिकताका विषयमा सम्बन्धित निकाय तथा प्रभावित व्यक्तिहरु बीचको अन्र्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले सो कुरा बताएका हुन् । उनले सामान्य समस्या पर्दा कुनैले फुकाउने गरेपनि कुनैले त्यसैलाई अल्झाउने गरेको बताउदै सबै सिडियो कार्यालयमा एकरुपता हुनुपर्ने विषयमा जोड दिए ।

उनले आफू सर्वोच्च अदालतको प्रधानन्यायाधिस भएका बेला आमाको नामबाट नागरिकता बनाउन फैसला गरेको सन्र्दभमा सो एउटा केशमा मात्र नागरिकता दिइएको बताए । अरुले पनि आमाको नाममा नागरिकता बनाउन जाँदा नदिएको उल्लेख गर्दै सर्बोच्चले एउटा केशमा त्यस्तो फैसला गरेपनि सबै अवस्थमा लागू गर्नुपर्नेमा उनको जोड थियो ।

उनले आफूले पनि छोराको नागरिकता बनाउन सबै कागजात तयार पारेर सिडियो कार्यालय गएको तर सिडयो भेट नभएपछि भोली पल्ट छोरालाई पठाउदा बाबु ल्याउन भनेर फिर्ता पठाएको स्मरण गरे ।
उनले भने ‘नागरिकता बनाउन सबै प्रक्रिया पूरा गरेर आउँछ भने संविधानको भावना के छ त्यस अनुसार गृह मन्त्रालयले एउटा गाइडलाइन बनाएर नागरिकता दिनुपर्छ ।’

उनले नागरिकताको विषयमा नेपालको संविधानभित्रै विरोधाभास रहेको उल्लेख गरे । संविधानले महिला र पुरुषबिच भेदभाव नगर्ने भन्ने कुरा लेखे पनि विदेशी पुरुषसँग बिहे गरेको महिलाका सन्तानले, एकल महिलाका सन्तानले, विवाह गर्ने उमेर पूर्व सन्तान जन्माएका महिलाका सन्तानलाई नागरिकता प्राप्तिमा समस्या रहेको उनले बताए ।

उनले प्रक्रिया पुगेकाहरुलाई नागरिकताको प्रमाणपत्र दिलाउनका लागि प्रमुख जिल्ला अधिकारीले सहज प्रक्रिया अवलम्ब गर्न सुझाव दिए ।रातोपाटी

तपाईको प्रतिक्रिया