Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, १४ पुष । ठूला सवारीसाधनको लाइसेन्सको परीक्षा विधि परिवर्तन गरिने भएको छ । सार्वजनिक सवारी दुर्घटना बढेपछि लाइसेन्सको परीक्षा प्रणाली परिवर्तन गरी थप व्यावहारिक बनाउन लागिएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले सङ्घीय सवारी तथा यातायात व्यवस्था ऐनमा ठूला सवारीसाधनको लाइसेन्स परीक्षा प्रणाली परिवर्तन गर्न प्रस्ताव गरेको छ । लिखित र प्रयोगात्मक परीक्षालाई अझ व्यावहारिक बनाइने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।

विभागले सङ्घीय सवारी तथा यातायात ऐनको मस्यौदा तयार गरी सङ्घीय संसद्को हिउँदे अधिवेशनबाट पारित गराउने योजना बनाएको छ । सार्वजनिक सवारीसाधन चालकलाई लक्षित गरेर नयाँ प्रणाली ल्याउन लागिएको हो । दैनिकजसो सार्वजनिक सवारी दुर्घटना हुन थालेपछि विभागले व्यावहारिक परीक्षण प्रणाली अपनाउन थालेको हो । विभागका अनुसार सवारीसाधन दुर्घटनाको ८० प्रतिशत कारण चालकको लापरबाही देखिएको छ । अब सडकमै गएर ट्रायल पास गर्नुपर्ने व्यवस्था हुने छ ।

फिल्डमा गरिने प्रयोगात्मक परीक्षा पास भएपछि लाइसेन्स पाउनका लागि छ महिना ट्रायल अवधि राखिने छ । यो अवधिमा ड्राइभिङ रिपोर्ट राम्रो भए मात्रै लाइसेन्स पाइने छ । रिपोर्ट राम्रो नभए पुनः तीन महिना ट्रायल अवधि थपिने हमालको भनाइ छ ।
विभागले यातायातले सङ्घीय ऐनमार्फत ट्राफिक जरिवाना पनि बढाउन लागेको छ । ट्राफिक नियम उलङ्घनको अवस्था हेरेर तीन गुणासम्म जरिवाना बढाउन प्रस्ताव गरिएको छ । न्यून जरिवानाका कारण नियम मिच्नेको सङ्ख्या बढेको र दुर्घटना बढाएको विभागको दाबी छ ।

यस्तै, सवारीसाधनको सम्पूर्ण विवरण डिजिटलमा हेर्न मिल्नेगरी दुई वर्षअघि सुरु गरिएको इम्बोस्ड नम्बर प्लेट वितरण सुरु गरिने भएको छ । इम्बोस्ड प्लेटका विरुद्धमा परेको रिट खारेजीको निर्णय सर्वोच्चले गरेपछि यातायात व्यवस्था विभागलाई काम सुचारु गर्न बाटो खुलेको हो । फैसलाको पूर्ण पाठ आउनासाथ यसलाई पुनः कार्यान्वयनमा लैजाने तयारी गरेको विभागले जनाएको छ । विभागका प्रवक्ता तीर्थराज खनालले अब इम्बोड नम्बर वितरण गरिने बताएका छन्।

तपाईको प्रतिक्रिया