Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

विराटनगर, १३ पुष । सीमावर्ती भारतीय क्षेत्रमा रोकिएका करिब दुई हजार ट्रक नेपाल प्रवेश गर्न थालेका छन् । विराटनगर भन्सार नाका नजिकै रहेको मिरगञ्ज पुल सञ्चालनमा आएपछि भारतमा रोकिएका करिब दुई हजार ट्रक नेपाल प्रवेश गर्न थालेका हुन् ।

विराटनगर भन्सार प्रवेशका लागि पार गर्नुपर्ने भारत बथनाहको मिरगञ्ज पुल नौं दिनपछि सञ्चालनमा आएपछि रोकिएका ट्रक आउन थालेको भन्सार कार्यालय विराटनगरका सूचना अधिकारी मनिराम पौडेलले जानकारी दिए ।

पुल मर्मतको लागि भन्दै भारतले डिसेम्बर १९ देखि मालबहाक सवारी साधन आवत जावतमा रोक लगाएको थियो । पुलको मर्मत सकेर भारतले शुक्रबार रातिदेखि सवारी आवागमन सुचारु गरेको हो ।

तर यो पुल जनवरी ९ तारेखसम्म मात्र सञ्चालन हुनेछ । त्यसपछि फेरि मर्मतका लागि जनवरी २० तारेखसम्म बन्द गर्ने जानकारी आएको पौडेलले बताए । लामो समयपछि अवरोध खुलेकाले अहिले भारतबाट नेपालतर्फ आएका मालवाहक सवारी साधनको लामो लाइन लागेको छ ।

विराटनगर भन्सार कार्यालयले दैनिक करिब १५ करोड रुपैयाँ राजस्व संकलन गर्दै आएको छ । भारतबाट नेपाल दैनिक करिब २ सय ५० गाडी प्रवेश गर्ने गरेका छन् । पुल मर्मतका लागि सवारी आवत जावतमा रोक लगाएपछि भन्सार राजस्व संकलन घटेको थियो ।

तपाईको प्रतिक्रिया