Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौं, १२ पुष । वैदेशिक रोजगार विभागले मागपत्रको प्रमाणीकरण (एटेस्टेसन) र श्रमिक छनोट (सेलेक्सन) प्रक्रियाका काम सन् २०२० जनवरी १ तारिखदेखि अनलाइन प्रणालीबाट गर्ने गरी तयारी गरेको छ । विभागले वैदेशिक रोजगार व्यवस्थित, मर्यादित, सुरक्षित र भरपर्दो बनाउने उद्देश्यसहित जनवरी १ तारिखबाट यो प्रणाली लागू गर्न थालेको हो ।

विभागका अनुसार वैदेशिक रोजगारीसँग सम्बन्धित सबै कामलाई विद्युतीय (अनलाइन स्टिम) प्रणालीमा लैजाने तयारीलाई अन्तिम चरणमा पु¥याएको छ । विभागका निर्देशक भोलानाथ गुरागाईले विभागले सन् २०२० जनवरी १ तारिखदेखि श्रम स्वीकृतिका सबै कार्यलाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफईआईएमएस) मार्फत गर्न नसके पनि श्रमिकको मागको प्रमाणीकरण र छनोटलाई अनलाइन प्रणालीबाट गर्ने गरी तयारी गरेको जानकारी दिए ।

निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीलाई सुधार गर्नका लागि गतवर्ष असोजबाट एफईआईएमएसलाई अगाडि बढाएका थिए । एफईआईएमएस पूर्णरूपमा कार्यान्वयनमा आएपछि विभाग, वैदेशिक रोजगार बोर्ड, वैदेशिक रोजगार व्यवसायी (म्यानपावर)कम्पनी, अध्यागमन विभाग, राहदानी विभाग, मेडिकल, बैङ्क, बीमा, अभिमुखीकरण, विदेशस्थित नेपाली नियोग एकैसाथ जोडिने छन् । यसमा प्रमुख गन्तव्यस्थित नेपाली दूतावासलाई जोडिएको छ ।

मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई)यसमा जोडिएका छन् र अन्य गन्तव्य देश कतार, साउदी अरब, कुवेत बहराइनलगायतलाई पनि यस प्रणालीमा जोड्न पत्राचार गरिसकेको विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिएका छन्।
यो प्रणाली कार्यान्वयनपछि प्राविधिक रूपमा समस्या आउँदाबाहेक श्रम स्वीकृति प्रक्रियामा वैदेशिक रोजगार व्यवसायीका प्रतिनिधि र विभागका कर्मचारीबीच भेट गर्ने नै नपर्ने उनको भनाइ छ ।गोरखापत्र

तपाईको प्रतिक्रिया