Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, १० पुष । भारतमा पुर्‍याएर एक युवतीको बलि दिन लागेको घटनामा युवती र प्रहरीको चलाखीले गम्भीर अपराध टरेको छ ।

बिहीबार महानगरीय प्रहरी परिसर टेकुमा पत्रकार सम्मेलन गर्दै प्रहरीले गम्भीर अपराध हुनबाट जोगिएको बताएको हो ।

बिहारको मन्दिरमा रहेका एक बाबाले एक ६ फिट उचाइकी युवतीलाई बिहारमै बलि दिनका लागि नेपाली व्यक्तिहरुलाई परिचालन गरेको र युवती ल्याउने व्यक्तिहरुलाई मोटो रकम दिने आश्वासन दिई केही रकमसमेत दिइसकेको प्रहरीले बताएको छ ।

बिहीबार पत्रकार सम्मेलन गरी घटनामा संलग्न मुख्य योजनाकार दिलिप पोद्दारसहित ७ जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको हो ।

प्रहरीले घटनामा संलग्न कावासोती नवलपरासीका २६ वर्षीय कृष्ण तामाङ, सप्तरी राजबिराजका ४० वर्षीय उमेश शाह, दाङ घोराहीका २४ वर्षीय दिलकुमारी बुढामगर, सप्तकोशी ११, सप्तरीका ३५ वर्षीय उमेश माझी, धादिङ झार्लाङका २३ वर्षीय प्रेमा तामाङ र गढी गाउँपालिका सुनसरीका ३७ वर्षीय रञ्जितकुमार चौधरीलाई सार्वजनिक गरेको छ ।

युवतीलाई मोडलिङ गर्नका लागि छानिएको र नेपाल भारत सीमामा डकुमेन्ट्रीको छायांकन गर्ने भन्दै त्यसबापत मोटो रकम दिने प्रलोभन दिइएको पाइएको थियो ।

उनीहरुको प्रस्तावमा स्वीकार गरेकी युवतीले पछि शंका लागि महानगरीय प्रहरी परिसर टेकुमा मौखिक उजुरी दिएपछि प्रहरीले गिरोहमाथि निगरानी बढाएको थियो । त्यसलगत्तै युवतीलाई विराटनगर सीमाबाट जोगबनी हुँदै बिहारको मन्दिरतर्फ लैजान लागिएको अवस्थामा गिरोहका ७ जना सदस्यलाई पुस ७ गते राति साढे ९ बजे विराटनगरबाट पक्राउ गरी काठमाडौं ल्याइएको हो ।

घटनामा संलग्न भएकाहरुले युवतीलाई भारत पुर्याएवापत आफूहरुलाई राम्रो रकम दिने प्रलोभन दिइएको भएपनि के र किन युवती चाहिएको हो थाहा नभएको बताएका छन् ।

बिहारका बाबाले मगाएका थिए युवती
प्रहरी स्रोतका अनुसार भारत बिहारस्थित एक मन्दिरका बाबाले ६ फिट अग्लो उचाई भएकी युवती मगाएका थिए । उनले युवती मासु र रक्सी खाने हुन नहुने, महिनावरी नभएको समय हुनुपर्ने र शरीरमा कुनै खत भएको वा घाउचोट नभएको हुनुपर्ने बताएका थिए ।

युवती ल्याएवापत मोटो रकम दिने भनेपछि विराटनगर ८ मोरङका ५१ वर्षीय दिलिप पोद्दारले यो सबै प्रपञ्च रचेका थिए । यो घटनाको मास्टरमाइन्ड र डिजाइनर सबै पोद्दार रहेको प्रहरीको दावी छ ।

पोद्दार र भारत बिहारस्थित एक मन्दिरका बाबाबीच टेलिफोनमा पटकपटक संवाद भएको पाइएको प्रहरीले बताएको छ । त्यसकारण यसका प्रमुख पात्र भने भारत बिहारका एक बाबा रहेको प्रहरीको दाबी छ ।

प्रहरीले बाबाको पहिचान भने खुलाएको छैन ।

डकुमेन्ट्री निर्माणको विषय सबै बनावटी योजना भएको र युवतीलाई भारत पुर्याउन रचिएको नाटकमात्रै भएकोसमेत प्रहरीको दाबी छ ।

पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थपेर अनुसन्धान सुरु गरिएको छ ।

तपाईको प्रतिक्रिया