Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

पोखरा, ७ पुष । पोखरा महानगरमा एउटै कर्मचारीले २ थरी प्रमाणपत्र पेश गरेर जागिर खाएको भेटिएको छ । महानगर सेवाबाट अवकास तथा बढुवा गर्ने क्रममा १० भन्दा बढी कर्मचारीको फरकफरक शैक्षिक प्रमाणपत्र र नागरिकता भेटिएको हो ।

फरकफरक प्रमाणपत्र भेटिएपछि कोही कारबाहीमा परेका छन् भने कोही अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । २ वटा नागरिकता हुनेमा सहायक एकबहादुर बस्नेत, वसन्तप्रसाद चालिसे छन् । बस्नेतको पहिलो नागरिकतामा जन्ममिति २०१७ असार ३२ गते छ । तर, उनले पछिल्लोपटक महानगरमा पेस गरेको नागरिकतामा २०१८ मंसिर ३१ गते उल्लेख गरिएको छ ।

कर्मचारी ऐन अन्तर्गत दोहोरो कागजपत्र भएमा अघिल्लो प्रमाणपत्रलाई स्वीकृत गरिन्छ । बस्नेतको अघिल्लो नागरिकतामा उल्लेख भएको जन्म मितिलाई आधार मान्ने हो भने उनले गत वर्ष नै अवकाश पाइसक्नुपर्ने थियो । तर, पछिल्लो नागरिकतामा कायम भएको मितिले उनले १ वर्ष ४ महिना बढी महानगरबाट तलब बुझेका छन् ।

दोहोरो जन्ममिति र नागरिकता हुने अर्का कर्मचारी वसन्तप्रसाद चालिसे छन् । उनी महानगरमा वरिष्ठ नगर प्रहरी निरीक्षकका रुपमा कार्यरत थिए । उनको पहिलो नागरिकतामा जन्म मिति २०१७ फागुन ५ गते उल्लेख छ ।

तर, उनले पछिल्लोपटक महानगरमा पेस गरेको कागजातमा जन्म मिति २०१९ चैत २७ गते छ । उनको अघिल्लो प्रमाणपत्रको जन्म मितिलाई आधार मान्ने हो भने सेवा निवृत्त भइसकेपछि पनि ९ महिना बढी महानगरबाट सेवा, सुविधा लिइसकेका छन् ।

दुई थरी नागरिकता र जन्ममिति पेश गरेर महानगरमा जागिर खाएका र सेवा निवृत्त भइसकेपछि पनि तलब भत्ता बुझिरहेका २ जनालाई महानगरले कारबाही गरेको छ ।

कारबाही पर्नेमा एकबहादुर बस्नेत र लोकराज घिमिरे छन् । प्रथम तहका कर्मचारी घिमिरेले अवकास पाइसकेपछि पनि महानगरबाट सेवा, सुविधा लिइरहेको खुलेको हो ।

‘महानगरले अघिल्लो प्रमाणपत्रको मितिलाई आधार मानेर अवकाश दिइसकेका छौं,’ महानगर प्रमुख मानबहादुर जिसीले भने, ‘२ कर्मचारीको सेवा निवृत्तपश्चात पनि खाइपाई आएको सेवासुविधा फिर्ता गरेर कारबाही गरिन्छ ।’ उनले नक्कली कागजात पेश गरेर सरकारी सेवा, सुविधा लिन कसैलाई पनि छुट नहुने बताए ।

फरक जन्ममिति पेश गरेर महानगरमा जागिर खाइरहेका वरिष्ठ नगर प्रहरी निरीक्षक वसन्तप्रसाद चालिसेलाई भने कारबाही गरिएको छैन । कारबाहीमा पर्ने बस्नेत र घिमिरे वडामा कार्यरत थिए भने चालिसे महानगरमा कार्यरत थिए । महानगरकै एक उच्च अधिकारी चालिसेलाई के कारबाही गर्नेबारे छलफल चलिरहेको बताउँछन् ।

एकपछि अर्को कर्मचारीले पेश गरेको प्रमाण पत्र २ थरि प्रमाणित हुन थालेपछि ११ जना नगर प्रहरी अख्तियारको फन्दामा परेका छन् । दोहोरो प्रमाण पत्र पेश गरेर जागिर खाइरहेको अख्तियारमा उजुरी परेपछि उनीहरुलाई अख्तियारले नियन्त्रणमा लिएको हो ।

महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले नगर प्रहरीको दोहोरो कागजातबारे अख्तियारले अनुसन्धान गरिरहेको जानकारी दिए । ‘ती नगर प्रहरीको बढुवाको क्रममा २ थरि कागजात भएको खुलेको होे ।अनलाइनखबर

तपाईको प्रतिक्रिया