Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काभ्रे, २ पुष । काठमाडौँ विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको कार्यालयमा लगाएको ताला २१ दिनपछि आज खुलेको छ । यसअघि काठमाडौँ विश्वविद्यालय प्राध्यापक सङ्घ र काठमाडौँ विश्वविद्यालय कर्मचारी सङ्घ दुवैले आफूहरुसँग काठमाडौँ विश्वविद्यालय कार्यकारी परिषद्ले गठन गरेको अधिकार सम्पन्न वार्ताटोलीबीच २०७६ भदौ ३० गते विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार, डिनहरु, प्राध्यापकहरु तथा कर्मचारीको उपस्थितिमा भएको सम्झौता कार्यान्वयनका लागि पटक÷पटक स्मरण गराउँदा पनि बेवास्ता गरेको भन्दै ताला लगाएको थियो ।

मङ्गलबार बसेको विश्वविद्यालय कार्यकारी परिषद्को बैठकमा आन्दोलनरत प्राध्यापक सङ्घ र कर्मचारी सङ्घबीच भएको निर्णय पूर्णपालना गर्ने मौखिक सहमति भएपछि आन्दोलनरत पक्षले नै आज ताला खोलेको काठमाडौँ विश्वविद्यालयका सूचना प्रमुख डा हेमराज काफ्लेले बताए । ‘हिजो भएको बैठकमा उहाँहरुलाई पनि बोलाएर छलफल भएपछि त्यही आधारमा आज उहाँहरुले नै ताला खोलेको भन्ने कुरा आएको छ’, सूचना प्रमुख काफ्लेले भने ।

काठमाडौँ विश्वविद्यालय प्राध्यापक सङ्घका सभापति डा।बेदमणि दाहालले मङ्गलबार बसेको विश्वविद्यालय कार्यकारी परिषद्को बैठकमा दुवै सङ्घलाई बोलाएर बैठक बसेको र त्यसमा विगतमा गरिएका सबै सम्झौता पूर्ण कार्यान्वयन गर्ने भनिएपछि आज ताला खुलेको बताए ।रासस

तपाईको प्रतिक्रिया