Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

वीरगन्ज, १ पुष । वीरगन्जको २४ बहुअरीमा तरकारीमा विष हालेर खाँदा एक महिलाको मृत्यु भएको छ। परिवारका सदस्यलाई विष राखेर पकाएको तरकारी खाँदा ती महिलाको मृत्यु भएको हो। सोही तरकारी खाँदा परिवारका अन्य पाँचजना सिकिस्त छन्।

बिरामी पाँचजनाको वीरगन्जको नेशनल मेडिकल कलेजको सघन उपचार कक्ष (आइसीयु)मा उपचार भइरहेको छ । प्रहरीका अनुसार बहुअरीका जगदीश कुर्मीको घरमा सोमबार बिहान खाना पकाउने विषयमा उनकी कान्छी श्रीमति राधिका देवी र जेठी श्रीमतिकी छोरी मनिषा पटेलबीच झगडाको भएको थियो। त्यही झगडाको आक्रोशमा राधिकाले सोमबार राती खाना पकाउने क्रममा तरकारीमा अल्मुनियम फस्फेट नामक विषादी हालेकी थिइन्। विषादी हालेर पकाइएको तरकारी राधिका आफैले पनि खानुका साथै परिवारका सदस्यलाई पनि खुवाएकी थिइन्।

विषादी हालेर पकाइएको तरकारी खाएलगत्तै गम्भीर बिरामी परेका राधिकासहित परिवारका ६ जनालाई उपचारका लागि सोमबार वीरगन्जको तराई हस्पिटलमा पुर्‍याइएको थियो ।तराई हस्पिटलमा उपचारकै क्रममा राधिका देवीको मृत्यु भएको हो।

विषादी हालिएको तरकारी खाँदा राधिकाका छोरा ३ वर्षीय विवेककुमार तथा सौताका छोरा २० वर्षीय राकेश पटेल, १७ वर्षीय विकास पटेल र १४ वर्षीय विशाल पटेल र छोरी १६ वर्षीया मनिषा पटेल सिकिस्त छन् ।

उनीहरुको तराई हस्पिटलमा उपचार सम्भव नभएपछि सोमबार राती थप उपचारका लागि नेशनल मेडिकल कलेजमा भर्ना गरिएको छ । पाँचैजनाको अवस्था जटिल रहेकाले आइसीयूमा उपचार भइरहेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक साहले जानकारी दिए ।

मृतक राधिका श्रीमान् जगदीश परवानीपुरको कपडा उद्योगमा काम गर्छन्। सोमबार राती उनी घर नआइ उद्योगमै बसेका रहेछन्, प्रहरी निरीक्षक साहले भने, जगदशीलाई प्रहरी कार्यालयमा झिकाएर घटनाका बारेमा अनुसन्धान गरिरहेका छौं।

तपाईको प्रतिक्रिया