Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठ्माडौं, ३० मंसिर । सरकारले पहिलोपटक विषादीको सीमा तोकेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले १० प्रकारका फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा तोकेको छ।

अन्तर्राष्ट्रिय संस्था कोटेक्सको मापदण्डलाई आधार मानेर विषादीको अधिकतम सीमा तोकिएको हो। बढी मात्रामा आयात, निर्यात हुने र सबभन्दा बढी उपभोग हुने खाद्य वस्तुमा विषादीको सीमा तोकिएको विभागका प्रवक्ता मोहन महर्जनले बतााए। उनकाअनुसार स्याउ, केरा, करेला, भन्टा, बन्दा, कोभी, भिन्डी, आलु, टमाटर, चियामा विषादीको अधिकतम सीमा तोकेर नेपाल राजपत्रमा प्रकाशन गर्न मन्त्रिपरिषद्मा प्रस्ताव स्वीकृतिको लागि पठाइएको छ।

थप १३ प्रकारका फलफूल तथा तरकारीको विषादीको सीमा तोक्न विभागले अध्ययन गरिरहेको प्रवक्ता महर्जनले जानकारी दिए। बोडी, सिमी, परवल, भेंडे खुर्सानी, काँक्रो, घिरौंला, प्याज, फर्सी, जुगेनी, रायो साग, सुन्तला, आँप र अङ्गुरमा विषादीको अधिकतम सीमा तोक्न अध्ययन भइरहेको उनले बताए।

त्यस्तै, भेटनरी ड्रगअन्तर्गत कुखुरा, हाँस टर्की, खसीबोका, भेडा, बंगुर, सुँगुर खरायो र माछाको मासुको पनि विषादीको अधिकतम सीमा तोकिने भएको छ। यसका लागि विभागले अध्ययन गरिरहेको छ।

विभागले थन्केर बसेको एलसिएमएसरएएएस तथा आइसिपि–एमएस जस्ता उपकरण मर्मत गरी यस्ता वस्तुको विषादी जाँच गर्न समेत लागि परेको उनले बताए।

खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयमा तरकारीको विषादी जाँचका लागि पनि विभाग १५ वटा आरबिपीआर उपकरणको खरीद प्रक्रियामा रहेको छ।

तपाईको प्रतिक्रिया