झापा, २५ मंसिर । सीता एयरले विराटनगर र भद्रपुर विमानस्थलबाट पाथिभरा र हलेसी महादेवको मन्दिर दर्शन गराउने प्याकेज ल्याएको छ । भ्रमण वर्ष २०२०मा छिमेकी देश भारतका पर्यटकलाई आकर्षित गर्न सीता एयर र माउन्टेन हेलिकोप्टरले धार्मिक पर्यटकका लागि हलेसी पाथीभराको दर्शनको प्याकेज ल्याएका हुन् ।
पूर्वबाट सुरु हुने योजनाले नेपाल र भारतका धार्मिक पर्यटकले लाभ लिनसक्ने सीता एयरका प्रबन्धक निर्देशक राजेन्द्रबहादुर सिंहले बताए ।
सीता एयरले भद्रपुर र विराटनगर विमानस्थलबाट हप्तामा एकपटक सुकेटार र लामिडाँडा उडान भर्ने र सो विमानस्थलबाट हेलिकप्टरबाट धार्मिक स्थल पूर्याउनेछ । सिंहका अनुसार धार्मिक यात्राका लागि प्रतिव्यक्ति २३ हजार भाडा तोकिएको छ । २९ मंसिरबाट सुरु हुने सेवाले पर्यटन वर्षको विकासमा टेवा पुग्ने होटल व्यवसायी भविष श्रेष्ठले बताए ।