Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

गौरादह, १८ मंसिर । विद्युत चुहावट नियन्त्रण गर्न विद्युत प्राधिकरणले अबैध रुपमा जडान गरिएका सडक बत्तीहरु हटाउन थालेको छ। स्थानीय सरकारले सर्वसाधारणहरुलाई आवतजावतमा सहजताकालागि मिटर जडान नगरि पोलमा राखेका सडक बत्तीहरु विद्युत प्राधिकरण शाखा गौरादहले काटेको हो।

गौरादह, कमल र गौरीगंज क्षेत्रमा स्थानिय तहले हुक लाएर डाईरेक्ट तारमा जडान गरी वडा भित्रका सडकहरूका बिजुलिका पोलहरुमा जडान गरिएका सडक वतीहरूलाई प्राधिकरणले धमाधम काट्न थालेको हो। प्राधिकरणले गौरादह , कमल र गौरीगंज क्षेत्रमा अवैधरूपमा विधुत मिटर नराखि जडान गरिएका करिब २० वटा सडक वत्ती बुधबार काटिएको गौरादह प्राधिकरणका प्राविधिक विनोद ठाकुरले बताए ।

विद्युत चुहावट तथा अनियमिततालाई नियन्त्रण गर्न अवैधरूपमा जडान गरिएका सडकबत्तीहरु काटेको प्राबिधिक ठाकुर बताउछन। स्थानिय सरकारले विद्युत मिटर राखेर बैधानिक रुपमा सडकमा वत्ती जडान गर्न पाउने प्राविधिक ठाकुरको भनाइ छ। विद्युत मिटर राखेर सडक वत्ती जडान गर्न पाईने भएकाले मिटर नराखि सडक बत्ती राख्दा विद्युत चुहावट भई कार्वाहीको भागीदार हुनु पर्ने भएकाले समयमै सचेत गराउन प्राधिकरणले सडक वत्ती काटेको प्राविधिक ठाकुरले बताए।

गौरादह नगरपालिका, कमल गाउँपालिका र गौरीगंज गाउँपालिकाका भित्रका सडकमा रहेका पोलहरुमा जडान गरिएका वत्तीहरू काटिएको उनले बताए ।स्थानिय सरकारले प्राधिकरणसंग कुनै समन्वय नगरी जथाभावी र मनोमानि ढङ्गले सडक बत्ति जडान गरेको नेपाल विद्युत प्राधिकरण शाखा गौरादहले जनाएको छ ।

नागरिकलाई आवतजावत गर्न सहज होस् भनेर स्थानिय तहले सडक वत्ती जडान गर्न वडा पिच्छै वजेट विनियोजन गरेको छ । तर विद्युत मिटर नै जडान नगरी सडक वत्ती जडान गर्नुले स्थानिय सरकारले नै विद्युत चुहावट गर्न लागेको स्थानीयबासिहरु बताउछन । गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले विद्युत मिटर जडान गरेर मात्र सडक बत्ती राख्नु पर्ने बताएका छन। विद्युत मिटर जडान नगरी सडक बत्ती जडान गर्न नियमले नमिल्ने उनले बताए ।

प्रत्येक वडाका वडाध्यक्षहरूलाई मिटर राखेर सडक बत्ती जडान गर्न अनुरोध गरे पनि त्यस किसिमको कार्यान्वय नभएको अध्यक्ष श्रेष्ठले बताए । गौरीगंज गाउँपालिका वार्ड नं.३ र गौरादह नगरपालिका वडा नं १ र २ मा विधुतिय मिटर राखेर सडक वत्ती जडान गरिए पनि अन्य वार्डमा भने डाईरेक्ट तारमा हुक लगाएर सडक वत्ती राखिएको प्राधिकरण शाखा गौरादहले जनाएको छ ।

तपाईको प्रतिक्रिया