Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

भैरहवा, १८ मंसिर । भैरहवास्थित युनिभर्सल मेडिकल कलेजका विद्यार्थीले मानवसाङ्लो बनाई कलेज परिसर घेराबन्दी गरेका छन् ।

आज प्रथम वर्षको बोर्ड परीक्षा सुरु भएकै दिनबाट उनीहरूले परीक्षालाई पुर्ण बहिष्कार गर्दै ‘पेन डाउन’ सम्मको आन्दोलन गरेर कलेज परिसरमा घेराबन्दी गरेका हुन् ।

मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने लगायतका मागहरू राख्दै विगत ३४ दिनदेखि विद्यार्थीहरु आन्दोलनरत छन् । साथै रिले अनसन बस्न लागेको पनि २० औं दिन पूरा भैसकेको छ ।

बुधबार मात्रै एक अपिल जारी गर्दै कलेजले सेतो एप्रोन लगाएका विद्यार्थीहरुलाई आन्दोलन गर्नु शोभनीय नभएको जीवनको महत्त्वपूर्ण वर्ष गुमाउन लागेको भन्दै चेतावनीमुलक अपिल गरेको थियो । यतिमात्र नभएर सबै विद्यार्थीका अभिभावकहरुलाई व्यक्तिगत फोन गर्दै डर, त्रास, धम्की दिनेदेखि प्रलोभन देखाएर आन्दोलन स्थगित गर्न भन्दै दबाब दिइरहेको एक विद्यार्थीले नाम नखोल्ने सर्तमा बताए ।

मेडिकल कलेजहरुले लिने गरेको अतिरिक्त शुल्कका विषयलाई लिएर मन्त्रिपरिषद्ले समेत सुचना निकालेको छ । केही दिनअगाडि गत आर्थिक वर्ष र अहिलेको पैसा फिर्ता गर्न भन्दै बिडिएस र एमबिबिएसका विद्यार्थीलाई मात्रै लक्षित गरेर सूचना पठाए पनि त्यसमा विद्यार्थी सन्तुष्ट छैनन्, त्रिपक्षीय छलफल नभइ, मेडिकल काउन्सिल र सरकारका स्वार्थअनुकुल हुने गरी निर्णय भएको र विद्यार्थीको हितअनुकुल नभएको भन्दै निर्णय प्रति नै जलाएर बिरोध गरेका थिए ।

केही समय अगाडिदेखि अवैध रकम असुलेका कलेजहरुलाई रकम फिर्ता गर्न सरकारले निर्देशन दिए पनि कलेजहरुले आनाकानी गर्दै आएका छन् । फरक(फरक कलेजमा झन्डै १० देखि ४० लाखसम्म विभिन्न बहानामा अतिरिक्त शुल्क उठाउने गरेको विद्यार्थीको गुनासो छ ।

अतिरिक्त शुल्क उठाएको विषयमा विश्वविद्यालय, शिक्षा मन्त्रालय, संसदीय उपसमिति, नेपाल मेडिकल काउन्सिललगायत निकायले छुट्टाछुट्टै छानबिन गरिसकेका छन् । त्यस क्रममा त्रिभुवन विश्वविद्यालय (त्रिवि)र काठमाडौं विश्वविद्यालय (केयू) अन्तर्गतका कलेजले विद्यार्थीपिच्छे थरीथरी शुल्क असुलेको पाइएको थियो ।

अवैध शुल्क लिने गरेको, नदिनेलाई प्रयोगात्मक र आन्तरिक परीक्षामा फेल गराएको, परीक्षामा वञ्चित गराएको, मानसिक यातना दिएको, अतिरिक्त शुल्कको रसिद नदिएको, अनुगमनमा नक्कली विद्यार्थी र अभिभावक देखाउने गरेको, नक्कली बिरामीहरु खडा गर्ने गरेको लगायतका समस्याहरु प्रायजस्तो धेरै कलेजहरुमा देखिन्छ्न् ।

बढी शुल्क लिएको विरोधमा गण्डकी मेडिकल कलेज, चितवन मेडिकल कलेज लगायतका विद्यार्थीहरु आन्दोलित छन् । अहिले भैरहवास्थित युनिभर्सल मेडिकल कलेजका विद्यार्थी पनि आन्दोलित छ्न् ।

समस्या समाधान गर्न शिक्षा मन्त्रालयले एक महिनाभित्र शुल्क फिर्ता गर्नुपर्ने भनी विद्यार्थी र कलेज सञ्चालकबीच सहमति गरायो तर अझैसम्म कुनै कलेजले शुल्क फिर्ता गरेका छैनन् । समयमै समस्या समाधान नभएकै कारण केही प्रथम बर्षको परिक्षा समेत प्रभावित भएको छ ।न्युज२४

तपाईको प्रतिक्रिया