Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

विराटनगर, १४ मंसिर । बालसुधार गृह फुटाएर विराटनगरबाट भागेका दुई बालक पाँच दिनपछि मोरङको गोठगाउँ र झापाको बिर्तामोडबाट पक्राउ परेका छन् ।

जवरजस्ती करणी मुद्धामा अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा रहेका मोरङको सुन्दरहरैंचा नगरपालिका–७ का १७ वर्षीय बालक गोठगाउँ र ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका झापाको गौरादह नगरपालिका–१ का १६ वर्षीय बालक बिर्तामोडबाट पक्राउ परेका हुन् ।

मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले गोठगाउँबाट एक जना शुक्रबारराति र एक जना बिर्तामोडबाट शनिबार बिहान पक्राउ परेको बताए । उनकाअनुसार आफ्नै गाउँमा लुकिछिपी बसेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । सुधार गृहको तेस्रो तलाबाट ग्रील निकाल्दै झ्याल फुटाएर गत सोमबार बिहान तीन तलामाथिबाट हामफालेर दुई बालक फरार भएपछि प्रदेश १ प्रहरी प्रमुख डीआईजी ठाकुरप्रसाद ज्ञवाली र एसपी अधिकारीले विशेष टोली परिचालन गरेका थिए । २४ घण्टा नै प्रहरीको सुरक्षा हुने गृहमा त्यतिबेला असइ टीका राईको नेत्रृत्वमा प्रहरी थियो ।

गृहबाट बालक फरार भएको घटनाको छानबिन गर्न मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुको नेत्रृत्वमा छानबिन समिति बनाइएको छ । समितिले छानबिन गरिरहेका बेला भागेका दुवै बालक पक्राउ परेका हुन् । एसपी अधिकारीले बालकहरु पक्राउ परिसकेकाले भाग्नुको कारण र घटनाको सबै वास्तविकता चाँडै पत्ता लाग्ने बताए । गृहबाट भागेकाले फरार भएका दुवै जनालाई कानुन बमोजिम थप कारबाही अघि बढाएर बालसुधार गृहकै जिम्मा लगाइने एसपी अधिकारीको भनाइ छ । यो घटनामा संलग्नता तथा कमजोरी रहेको पाइएमा ड्युटीमा रहेका प्रहरीमाथि पनि कारबाही गरिने उनले बताए ।पूर्वेली न्यूज

तपाईको प्रतिक्रिया