Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, १४ मंसिर । तस्करलाई पछ्याउँदै अमेरिका छिर्न खोज्दा नेपालीहरू अफ्रिकीलगायत विभिन्न देशमा अलपत्र पर्ने क्रम बढेको छ । अध्यागमन विभागको पहलमा शुक्रबार दिउँसो मात्रै इन्डोनेसियाको अध्यागमनको नियन्त्रणमा परेका ५ जना काठमाडौं फर्किर्एका छन् । नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोको समन्वयमा एक महिनायता मात्रै मलावीबाट चार र इथियोपियाबाट ६ जनालाई फर्काइएको छ ।

इन्डोनेसियाबाट फर्किएका पाँचमध्ये दुई जना गत फागुन १६ गते र तीन जना फागुनकै पहिलो साता अमेरिका जान भन्दै इन्डोनेसिया उडेका थिए । उनीहरूमध्ये तीन जना रुकुमका हुन् भने रोल्पा र बाँकेका एक–एक जना इन्डोनेसियाको अध्यागमनको नियन्त्रणमा १४ दिन बिताएर फर्किएकाहरूमध्ये एक जना १९ वर्षका मात्रै छन् ।

संगठित मानव तस्करको गिरोहले उनीहरूलाई काम हुँदैछ भन्दै महिनौंसम्म इन्डोनेसियामा अलपत्र पारेर राखेको थियो । फर्किएकामध्ये दुईले आफूहरूलाई एजेन्टले इन्डोनेसियाबाट इथियोपिया पुर्‍याएर ३६ दिनसम्म राखेर इन्डोनेसिया नै फर्काएको बताए । ती दुईलाई एजेन्टले फेरि सिंगापुर छिराउने प्रयास गरे पनि कागजात नमिलेपछि पुन:इन्डोनेसिया फर्किएका थिए । अन्य तीनलाई भने काठमाडौंबाट मलेसिया हुँदै इन्डोनेसिया पुर्‍याइएको थियो ।

छ महिना अलपत्र परेका उनीहरू नेपाल फर्किन खोजेपछि ओभरस्टे भएका कारण अध्यागमनको नियन्त्रणमा परेका हुन् । उनीहरूलाई अध्यागमन विभाग र नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोको पहलमा नेपाल ल्याइएको हो । खर्च अभावमा अलपत्र परेका उनीहरूलाई परिवारका सदस्यले जहाज टिकटको प्रबन्ध मिलाइदिएका थिए ।

अवैध रूपमा मेक्सिको हुँदै अमेरिका छिर्ने सपना बोकेका उनीहरूमध्ये दुईले २७ लाख रुपैयाँ गुमाएका छन् भने दुई जनाले करिब २० लाख र एक जनाले १५ लाख रुपैयाँ सिध्याएका छन् । आफूहरूसँगै अमेरिका छिर्ने भन्दै हिँडेकामध्ये केही मेक्सिको, पानामा र कोस्टारिका पुगेको उनीहरूले जानकारी दिए ।

मानव बेचबिखन नियन्त्रण ब्युरोका अनुसार अफ्रिकी देश मलावीमा अझै सात नेपाली अलपत्र छन् । उनीहरू भियतनाम, मादागास्कर, जोर्डन, दुबई, अजरबैजान हुँदै त्यहाँ पुगेका हुन् । यसरी नै गएका केही भने थप पैसा दिए मेक्सिको हुँदै अमेरिका छिर्न पाइने आसमा बसेका छन् ।कान्तिपुर

तपाईको प्रतिक्रिया