Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरीगंज, १३ मंसिर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले झापाको दक्षिणी क्षेत्र बिकाश निर्माणमा पछाडि परेकाले गौरीगंज क्षेत्रलाई विकास निर्माणको उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी गौरीगंजको आयोजनामा संचालन गरिएको अगुवा कार्यकर्ता भेटघाट तथा अन्तर्क्रिया कार्यक्रमलाई संबोधन गर्दै मन्त्री कार्कीले पार्टीले चुनावका समयमा बोलेका कुराहरु पूरा गरेर छोड्ने बताए ।
चुनावका समयमा पार्टीले घोषणापत्रमा जारि गरे अनुसार सरकारले कार्य गईरहेकोले आगामी निर्वाचनमा पनि जनताले नेकपालाई बिस्वाश गरेर मतदान गर्ने बताएका छन।

कार्यक्रममा मन्त्री कार्कीले गौरीगंज गाउँपालिकाको ६ वटै वडाको प्रत्येक वडालाई ५ र ५ करोड रूपैयाँ वजेट विनियोजन गर्ने बताए । हुलाकी सडकको रतुवा पुल निर्माण कार्यमा पाया नथपि दुवै तर्फबाट तटबन्धन गरि २ वर्ष भित्र पिच बाटो हुँदै विराटनगरसम्म पुग्न सक्ने बताए । मन्त्री कार्कीले गौरीगंजको शान्ति सुरक्षालाई ध्यान दिएर ईलाका प्रहरी कार्यालयलाई नयाँ गाडी उपलब्ध गराउने बताउदै आदिवासीहरूको बाहुल्यता रहेको गौरीगंज गाउँपालिकामा महिलाहरूलाई सीप विकास गर्ने गरि स्थानिय उत्पादनलाई प्रोत्साहन गर्न आफै अघि बढेर लागि परेको जानकारी गराए ।

मन्त्री कार्कीले गौरीगंजदेखि अल्तावारी बाटो निर्माण कार्यमा गुणस्तरमा ठेकेदारले कहि कतै कमजोरी गर्यो भने आफुलाई जानकारी गराउन आग्रह गर्दै सिमसार, विजुली, बाटो, खानेपानी, टेलिफोन टावर, पुल, कृषि बजार, बस पार्क, सिंचाईलगायतका विकास निर्माण कार्यहरू २/३ बर्ष भित्रमा गौरीगंजलाई कुनै समस्या नहुने बताएका छन्। कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मन्त्री कार्कीले गौरीगंजमा प्राविधिक क्याम्पस स्थापना गर्ने आफ्नो सोच रहेको बताउदै हाल प्रदेश र संघबाट विनियोजन गरिएको बजेट वितरण प्रणालीमा केही कमजोरी भएको स्वीकार गरेको बताउनु भयो । कार्यक्रममा मन्त्री कार्कीले आफ्ना नेता तथा कार्यकर्तालाई वडा तथा क्षेत्रका विकास निर्माणका कामहरू चैत महिना भित्र पेश गर्न आग्रह गरे ।

प्रदेश सांसद झलक सिंह दर्लामीले गौरीगंज गाउँपालिकामा जनता आवास कार्यक्रम अन्तरगत १२ वटा घर गरिब तथा विपन्न परिवारको लागि निर्माण भईरहेको बताएका छन् । कार्यक्रमका विशिष्ट अतिथिसमेत रहेका सांसद दर्लामीले नदी तटबन्धको लागि २० लाख वजेट विनियोजन भइसकेको बताउदै गौरीगंज वार्ड नं. १ र २ को विकास निर्माणमा आफू कुनै कमी नराख्ने प्रतिवद्व रहेको बताए ।

कार्यक्रमका विशिष्ट अतिथि तथा पुर्व सांसाद दिपक कार्कीले गौरीगंज भएको विकास जति गौरादहमा पनि नभएको बताएका छन् । ईलाका प्रशासन कार्यालय, स्मार्ट सिटी, सिंचाई, हुलाकी सडक, पुल सरकारकै पहलबाट अघि बढेको बताउदै सांसद कार्कीले यहाँका जनताले त्यत्रो ठुलो विकास नदेखेको टिप्पणी गरे ।

सांसद कार्कीले सरकारका मन्त्री, सांसद कार्य व्यस्तताका कारण जनताको आवश्यकता कहिकतै छुट्यो भने आफू कहाँ राख्न आग्रह गर्नुभएको थियो । रतुवा खोलाको पुलमा बालुवा पुर्नुलाई पुल निर्माण गर्न भौतिक मन्त्रालयलाई दवाव दिएको बताउदै पुर्व सांसद कार्कीले हिजो अर्थात विहिवार मात्रै पुल निर्माणका लागि सम्झौता भएको जानकारी गराए।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी गौरीगंजका अध्यक्ष विध्यानन्द राजवंशीले कमिटिको तर्फबाट प्रमुख अतिथि मन्त्री कार्कीलाई गौरीगंजको समग्र विकास निर्माणका लागि बजेट विनियोजन गर्न ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्रमा गौरीगंज भित्र रहेका पुल, बाटो, टेलिफोन टावर, सिंचाइ, बस पार्क निर्माण, खानेपानी, विजुली, सिमसार, झोलेङ्गे पुल निर्माण, जनता आवास कार्यक्रम, सीप विकास कार्यक्रमलगयताका विषयहरू समेटिएका छन् ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी गौरीगंज वडा नं. १ वडा ईन्चार्ज गोविन्द कुवर, २ का वडा सचिव आनन्द राजवंशी, वडा नं. ३ का राजेन्द्र राई, वडा नं.४ का अध्यक्ष सन्तलाल ताजपुरिया, वडा नं. ५ का वडा ईन्चार्ज धनबहाधुर थापा, वडा नं.६ का सह इन्चार्ज कृष्ण महतो, महिला नेतृ मोनिका राईले वडाहरूको विकास निर्माण कार्यमा मन्त्री कार्कीको ध्यानाकर्षण गराएका थिए । नेपाल कम्युनिस्ट पार्टी गौरीगंज गौरीगंज अध्यक्ष विध्यानन्द राजवंशीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। नगेन्द्र डागीले स्वागत मन्तब्य राखेको कार्यक्रममा विष्णु न्यौपानेले कार्यक्रम संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया