Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

सुनसरी, १३ मंसिर । सुनसरीको दक्षिणी क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरी भारतीय नागरिकले निर्माण गरेका घर–टहरालाई सशस्त्र प्रहरीले भत्काउन सुरु गरेको छ । सशस्त्र प्रहरी बलको ४ नम्बर गण सुनसरीबाट खटिएको टोलीले बुधबार र बिहीबार देवानगन्ज गाउँपालिकाको नेपाली भूमि अतिक्रमण गरी बनाइएका २१ घर–टहरा भत्काएको हो ।

भारतीयपक्षले सुनसरीका विभिन्न २० स्थानमा नेपाली भूमि अतिक्रमण गरी घर–टहरा बनाएको विषयमा समाचार सार्वजनिक भएपछि सशस्त्र प्रहरीले अतिक्रमणमा परेको नेपाली भूमिको सुरक्षा गर्न थालेको हो । देवानगन्ज गाउँपालिका र भारत, बिहार राज्यको अररिया जिल्लाको सोनापुरको बीचमा पर्ने १८६ नम्बर मुख्य सीमास्तम्भछेउमा भारतीय नागरिकले टहरा निर्माण गरेका थिए ।

घर–टहरा भत्काइ अतिक्रमण गरिएको नेपाली भूमि खाली गरिएको सशस्त्र प्रहरी ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकालले बताए । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को सहयोगमा भारतीयका घर–टहरा भत्काइएको उनले जानकारी दिए । नेपाली भूमि अतिक्रमण गरी बनाइएका घर–टहरा भत्काएर उनीहरुलाई भारततर्फ पठाइएको सशस्त्र प्रहरी उपरीक्षक ढकालले बताए ।

भारतीय नागरिकले नेपाली भूमि अतिक्रमण गरी घर–टहरा बनाइ बस्ती बसाएका कारण सुनसरीमा २३ सीमास्तम्भ हराएका छन् । हराएका सीमास्तम्भको खोजी तथा नयाँ निर्माण गर्न दुई देशका अधिकारीबीच सहमति भइसकेको पनि ढकालले बताए ।इमेजखबर

तपाईको प्रतिक्रिया