Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठ्माडौं, ११ मंसिर । मंसिर १४ गते हुने उपनिर्वाचनमा ३७ जिल्लाका ४ लाख ५४ हजार १ सय १४ जना मतदाताले मतदान गर्ने निर्वाचन आयोगले जनाएको छ । जसमा २ लाख ३३ हजार ४ सय २ महिला र २ लाख २० हजार ७ सय १० पुरुष मतदाता छन् भने अन्य दुई तेश्रोलिङ्गी मतदाताले पनि मतदान गर्नेछन् ।

बुधबार आयोगले निर्वाचनको तयारीबारे जानकारी दिन काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपिलयाले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताउँदै प्रतिनिधि सभातर्फ ११, प्रदेश सभातर्फ १५ र स्थानीय सदस्यका लागि २० राजनीतिक दल प्रतिस्पर्धामा रहेने जानकारी दिए ।

प्रतिनिधि सभाको निर्वाचन हुने कास्की निर्वाचन क्षेत्र नंबर २ मा ७१ हजार ८ सय ७१ मतदाता छन् भने प्रदेश सभा तर्फ भक्तपुरमा ४५ हजार १५ जना, बागलुङमा ३५ हजार १ सय ८४ र दाङमा ६८ हजार ७ सय १९ गरी २ लाख २० हजार ७८९ मतदाता रहेका छन् । यस्तै स्थानीय तहतर्फ २ लाख ३३ हजार ३ सय २५ मतदाता रहेका छन् । २०७४ सालमा भएको निर्वाचनपछि उपनिर्वाचन हुने क्षेत्रमा १६ हजार २ सय १९ मतदाता थापिएको आयोगले जनाएको छ ।

उपनिर्वाचन हुने ३७ जिल्लाका २ सय ४७ मतदान स्थल तथा ५ सय ३७ मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी लगायत सुरक्षाकर्मीहरु आवश्यक मतदानका सामग्री सहित आज साँझसम्म मतदान केन्द्रमा पुगिसक्ने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताएका छन् ।

उपनिर्वाचनमा प्रतिष्पर्धा गर्ने ३ सय ३३ उम्मेदवार मध्ये राजनीतिक दलतर्फ २ सय ५३ र स्वतन्त्र उम्मेदवार ८४ जना गरी कूल २ सय ७३ उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् ।

यो निर्वाचनमा आयोगका कर्मचारीका साथै मुख्य निर्वाचन अधिकृतको कार्यालय र अधिकृतको कार्यालयमा ३ सय ५४ जना कर्मचारी खटिएका छन् भने मतदान केन्द्रमा २ हजार ६ सय ६८ कर्मचारी, २ हजार १६ जना स्वंयसेवक गरी ५ हजार ५४ जना खटिएका छन् ।

यस्तै मतदाता शिक्षाका लागि उपनिर्वाचन हुने १ सय ५५ वडामा २ जनाका दरले ३ सय १० जना खटाएको आयोगले जनाएको छ ।

यस्तै निर्वाचनको दिन सवारी आवागमन व्यवस्थापनका लागि मतदान हुने निर्वाचन क्षेत्रमा बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म अनुमति प्राप्त सवारी बाहेक अन्यलाई रोक लगाउने जनाएको छ । तर अत्यावश्यक सेवामा रहेका एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, शव वाहन लगायतका सवारी साधान सञ्चालन गर्न सकिने आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया