Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

काठमाडौं, ९ मंसिर । नक्कली नागरिकता निकाली खाता खोलेर बैंकको रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास बैंकका शाखा अधिकृत केदारप्रसाद गौतमविरुद्ध ३३ करोड ९३ लाख रुपैयाँ बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनले कृषि विकास बैंकको स्वयम्भु कार्यालयमा १० महिना रहदा त्यति रकम अनियमितता गरेको अख्तियारको आरोप छ। अनियमिततालाई सघाएको आरोपमा अख्तियारले अरु ८ जनामाथि पनि मुद्दा दायर गरेको छ। सबैमाथि दावी गरिएको कुल विगो रकम २ अर्ब ७१ करोड ४४ लाख रुपैंया हुन्छ।

कृषि विकास बैंकको स्वयम्भु शाखामा कार्यरत केदारप्रसाद गौतम अरु कर्मचारीहरुको समेत काम आफै गरिदिने र सहयोगी स्वभावका थिए। सबैको काम गरिदिने भएकाले अरु सहकर्मी(बैंकका अरु टेलर)ले समेत उनलाई आफ्नो युजर नेम र पासवर्ड दिन्थे। शुरुमा अरुको काम गरिदिएका उनले पछि भने त्यसैको दुरुपयोग गरेर अरुको नामको अनि बैंकमा रहेको रकम आफूले खडा गरेको खातामा ट्रान्सर्फर गरेको खुलेको हो।

२०७१ साल असोजदेखि २०७२ साल असारसम्म १० महिनाको अवधिमा उनले ३३ करोड ९३ लाख रुपैयाँ ‘तेज बहादुर थापा’को नाममा सारेको खुलेको हो। तेजबहादुर थापा एउटा फर्जी नाम हो। कुनै व्यक्तिको पहिचान नै नभएको अवस्थामा नक्कली कागजातहरु खडा गरी गौतमले जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट थापाको नाममा नागरिकता बनाएको खुल्यो। अख्तियारले गौतममाथि ‘झुठा विवरण पेश गरी नागरिकता बनाएको’ आरोप पनि लगाएको छ। त्यही नागरिकताका आधारमा गौतमले कृषि विकास बैंकमा खाता खोले। अनि धमाधम बैंकको रकम थापाको नाममा ट्रान्सफर गरिरहे। आफ्नो अनियमितता सार्वजनिक हुने डर भएपनि गौतमले थापाकै नाममा पासपोर्ट बनाई विदेश जाने योजना बनाएका थिए। नेपालबाट भागेर भारतमा लुकेको अवस्थामा प्रहरीटोलीले उनलाई पक्राउ गरेको हो।

अख्तियारले बैंकका शाखा प्रबन्धक भरतबहादुर बानियाँमाथि पनि मुद्दा चलाइएको छ। उनीमाथि आर्थिक कारोबार, कर्मचारीहरुको रेखदेख र नियन्त्रण अनि व्यवस्थापन गर्न नसकेको आरोप छ। अनि केदारप्रसाद गौतमले खडा गरेको तेजबहादुर थापाको खाताबाट उनकी पत्नी सम्झना पोखरेल गौतमले पैसा निकाल्ने, कारोबार गर्ने र कर्जा तिर्ने गर्थिन। अख्तियारले गौतमकी पत्नी सम्झनालाई पनि मुद्दा लगाएको छ। उनकी कान्छी श्रीमती जेनी श्रेष्ठ गौतमलाई पनि प्रतिवादी बनाएको छ। गौतमसग कारोवार गर्ने सुमन भुजेल र सन्दिप गुप्ता अयिन नक्कली नागरिकता बनाउन सघाएको आरोपमा सुर्यबहादुर लिम्बु र कृष्णहरी थापामाथि समेत मुद्दा चलाएको छ। आरोपितहरुमाथि बैंकिङ कसुरको आरोपमा मुद्दा चलिसकेको छ भने सरकारी बैंकमा अनियमितता गरेकाले भ्रष्टाचारको आरोपमा समेत छानविन भएको हो। उनीहरुमाथि किर्ते नागरिकता लिएको आरोपमा समेत भक्तपुरबाट छानविन हुने भएको छ।कान्तिपुर

तपाईको प्रतिक्रिया