Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काँकडभिट्टा, ६ मंसिर । खाडी मुलुक लैजान लागिएका ७ नेपाली महिलालाई गत भारत र म्यानमारको सीमावर्ती क्षेत्र मोरेको प्रहरीले आइतबार उद्धार गरेको छ । उनीहरू २१ देखि ४१ वर्ष उमेर समूहका छन् । मोरेबाट म्यानमार प्रवेश गर्ने प्रयास गर्दागर्दै उनीहरू समातिएको मोरेस्थित प्रहरीले सञ्चार माध्यमलाई जानकारी दिएको छ । प्रहरीका अनुसार उनीहरू म्यानमार घुम्ने बहानामा प्रवेश गर्न लागेका थिए तर शंकास्पद गतिविधि देखाएपछि प्रहरीले सोधपुछ गरेर उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको राहदानीमा अध्यागमनको नक्कली छाप लगाएको पाइएको छ ।

ती महिलालाई दलालले दुबई र कुवेतमा रोजगारी लिने भनेर त्यहाँ पुर्‍याएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरूलाई दलालले इम्फालको होटलमा दुई दिन राखेर मोरे पुर्‍याएको थियो । इम्फालबाट मोरे पुग्न करिब १ सय १० किलोमिटर पहाडी बाटो तय गर्नुपर्छ । भारतको दिल्लीस्थित नेपाली दूतावासका काउन्सिलर प्रकाश अधिकारीका अनुसार उद्धार गरिएका महिलालाई मणिपुर राज्य सरकारले आश्रय दिएको छ ।

यस्तै अघिल्लो घटनामा संलग्न भई करिब ६ महिना जेल परेर छुटेका ललितबहादुर कार्की यो घटनामा संलग्न भएको पाइएको छ । कार्की हाल फरार छन् । प्रहरीले उनको खोजी तीव्र पारेको जनाएको छ ।

गत वर्ष मणिपुरबाट १ सय ७९ उद्धार गरेको करिब तीन महिनापछि पूर्वोत्तर भारतको अर्को राज्य मिजोरमबाट २३ नेपाली महिलालाई उद्धार गरी घर फर्काइएको थियो । म्यानमार (बर्मा) रुटबाट खाडी तथा इराक, किर्गिस्तानजस्ता युद्धग्रस्त मुलुकमा लैजाने गरिएको पुष्टि भएको छ । मानव तस्करीमा संलग्न गिरोहले प्रत्येक पटक रुट फेर्दै नेपालीलाई अवैधानिक ढंगवाट खाडीलगायत मुलुक पठाउने गरेको हो ।

उत्तरपूर्वी भारतका मणिपुर, मिजोरमलगायत राज्यको सिमाना म्यानमारसँग जोडिन्छ । मणिपुरको मोरे र मिजोरमको चम्फाई म्यानमारबीच सोझो सम्पर्क छ । यो नाकाबाट दुवै देशका नागरिकलाई आवातजावत गर्न सहज छ । व्यापार व्यवसायमा पनि कुनै बन्देज छैन ।कान्तिपुुर

तपाईको प्रतिक्रिया