Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

गौरादह, ५ मंसिर । गौरादह बहुमुखी क्याम्पस र कृषि क्याम्पस गौरादहका विद्यार्थीहरुले संयुक्तरुपमा गौरीगंज गाउपालिकाको नेपाल भारत सिमाक्षेत्र फतेहपुरमा नेपालको राष्ट्रिय झन्डा प्रदर्शन गर्दै नाराजुलुस गरेर विरोध प्रदर्शन गरेका छन् ।

भारतद्वारा नेपालको सिमाना अतिक्रमणको विरोध गर्दै विद्यार्थीहरुले गौरीगंजको दसगजा क्षेत्रमा पुगेर विरोध प्रदर्शन गर्नुका साथै नेपालको राष्ट्रिय झण्डा समेत गाडेका छन् ।

नेपाल विद्यार्थी संघको आयोजनामा आज विहान गौरीगंज गाउपालिकाको फतेहपुर नाकाको दशगजा क्षेत्रमा पुगेर विद्यार्थीहरुले ‘भारतीय विस्तारवाद मुर्दावाद, गो ब्याक इन्डिया, हाम्रो भूमि हाम्रो देश, प्राण भन्दा प्यारो छ’ लगायतका नारा लगाउदै दशगजा क्षेत्रमा पुगी उनीहरुले कोणसभा गरेका थिए । कोणसभा भइरहेको समयमा भारतीय प्रहरी मुकदर्सक बनेका थिए ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भुभाग भएको बताउदै भारतले बिनाशर्त भारतिय नक्शाबाट हटाउनु पर्ने आवाज उठाएका थिए। भारतले केही दिन अगाडि जारी गरेको राजनीतिक नक्सामा नेपालको भुभाग समावेश गरेको नक्शा जारी गरेकोमा आपति जनाउदै भारतीय नक्सा तत्काल सच्चाउन विद्याथीहरुले माग गरेका थिए ।

कोणसभामा विद्यार्थी नेता महेन्द्र भट्टराईले भारतीय विस्तारवाद नीतिको विरोध गर्दै नेपालको एक टुक्रा जमिन पनि अतिक्रमण गर्न नदिने बताए । नेविसंघ झापा सभापति राजेन्द्र उप्रेतीले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र जुनसुकै हालतमा भारतले नेपाललाई फिर्ता गर्नु पर्ने बताए । भारतले जारी गरेको आफ्नो नक्सामा नेपालको भुभागलाई समेट्नु अन्तर्राष्ट्रिय कानुनको विपरित भएको भन्दै त्यसको सबै नेपालीले प्रतिवाद गर्नु पर्ने बताए ।

कोणसभामा कमल गाउपालिकाका नेविसंघ सभापति जितेन साम्पाङ्क राई, झापा नेविसंघ सभापति राजेन्द्र उप्रेती, दमक नगरपालिका का नेपाली काँग्रेस वडा नं. ७ का सचिव अतित राई, गौरादह कृषि क्याम्पसका नेविसंघ इकाइ सभापति कुशल लामिछाने, गौरीगंज बहुमुखी क्याम्पसका स्ववियु सभापति देव ताजपुरिया लगायतले सम्बोधन गरेका थिए । नेविसंघ गौरादह नगरसभापति बाबुराम नेपालले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया