Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

काठमाडौं, ३ कार्तिक । नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट डिजेल लोड गरेर विराटनगर गइरहेको ट्यांकर बीच बाटोबाट गायब भएको छ । आइतबार दिउँसो २ बजे २० किलोलिटर डिजल लोड गरेर विराटनगरतर्फ जाँदै गरेको ना ४ ख ४१६३ नम्बरको ट्यांकर लहानबाट गायब भएको ढुवानीकर्ताले आयाल निगमलाई जानकारी गराएका छन् ।

ढुवानीकर्ता राजेशकुमार गुप्ताले डिजेल बोकेको ट्यांकर अपहरणमा परेको लिखित जानकारी निगमलाई मंगलबार बिहान १० बजे गराएका थिए। अपहरणकारीहरुले चालक रामदेव यादव र सह-चालक उमेश यादवलाई छाडेर ट्यांकरसँगै लगेको गुप्ताको दाबी छ।

उक्त ट्यांकर आइतबार राति लहान पुगेको र विश्राम गर्नका लागि राजमार्गको हुलाक अफिस अगाडि पार्किङ गरिएकै स्थानबाट अज्ञात समूहले लगेका हुन् । गुप्ताका अनुसार चालक र सहचालकहरुलाई ६ देखि ८ जनाको समूहमा आएका अज्ञात व्यक्तिहरुले आँखामा पट्टी बाँधेर बर्दिवास र लालबन्दीको बीचमा पर्ने जंगलमा पुर्‌याएर छाडेको र ट्यांकर भने उनीहरुले आफैँसँग लगेका छन्।

आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले ढुवानीकर्ताले ट्यांकर गायब भएको कुरा निगमलाई जानकारी गराएको पुष्टि गरेका छन् । उनले घटनाबारे छानबिन गर्नका लागि सुरक्षा निकायसँग समन्वय भइरहेको बताए ।कान्तिपुर

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments