काठमाडौं, २९ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयमा कार्यरत सल्लाहकार सहित ६ जनाको राजिनामा स्वीकृत गरेका छन्। मङ्सिर १ देखि लागू हुनेगरी प्रेस सल्लाहकार कुन्दन अर्यालसहित ६ जनाको राजीनामा स्वीकृत भएको छ।
राजिनामा स्वीकृत हुने अन्य सचिवालय सदस्यमा जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी तथा सचिवालयमा कार्यरत घनश्याम भट्टराई, कृष्ण पौडेल र कम्प्युटर अपरेटर उदय पोखरेल छन्।
प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा भने विष्णु रिमाल र परराष्ट्र सल्लाहकार राजन भट्टराई यथावत रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
विशेषगरी पछिल्लो समय सल्लाहकारका कारण प्रधानमन्त्री विवादमा परिरहने र प्रधानमन्त्रीका सल्लाहकार समूहले नेकपाकै नेता कार्यकर्तालाई समेत प्रधानमन्त्रीसम्मको पहुँच हुन नदिएको गुनासो बढेको थियो । गुनासो सतहमा आउन थालेपछि प्रधानमन्त्रीले सचिवालयमा कार्यरत सम्पूर्ण कर्मचारीलाई राजीनामा दिन निर्देशन दिएका थिए ।
सोही बमोजिम गत शनिबार प्रधानमन्त्रीको सल्लाहकार समूहका पदाधिकारी र स्वकीय सचिवालयका पदाधिकारीले नयाँ निर्णयको लागि बाटो खुला गरिदिएको भन्दै सामूहिक राजीनामा दिएका थिए ।






