गौरादह, २३ कार्तिक । नेपालको सिमाना अतिक्रमण र एकतर्फी सिमाँकनको विरुद्धमा झापाको गौरादहमा (आज) शनिबार बिरोध प्रदर्शन गरिएको छ । नागरिक समाज गौरादहको आयोजनामा स्वत स्फुर्त रुपमा भएको विरोध प्रदर्शनमा स्थानीयहरुको वृहत सहभागिता रहेको थियो ।

गौरादहको डिपुचोक बाट राष्ट्रिय गित बजाएर सुरु गरेको ¥यालीले बजार परिक्रमा गरी कोण सभामा परिणत भएको थियो । विरोध प्रदर्शनमा कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमी हो । भारतीय बिस्तारबाद मुर्दाबाद, सिमा अतिक्रमण गर्न पाइदैन, बिर सहिद अमर रहुन, राष्ट्र र राष्ट्रियता जिन्दाबाद लगाएतका नारा लगाइएको थियो ।
कोण सभालई सम्बोधन गर्दै संविधान सभा सदस्य दीपक कार्कीले इतिहास देखिनै नेपालले कहिल्यै पनि कसैको दासत्व स्विकार नगरेको र अब पनि कसैको हस्तक्षेप नेपाली नागरिकले सहन नसक्ने धारणा राख्दै सबै राष्ट्रभक्त नेपालीलाई एकजुट हुन आहवान गरेका थिए ।
नेपाली काँग्रेसका यादवराज सेडाईंले भारतले पटकपटक सिमा अतिक्रमण गरेर नेपालको अस्मितामाथि धावा बोलेकोले नेपाल सरकारले कुटनितिक पहल गर्नुपर्ने र नागरिकले खबरदारी गर्नुपर्ने धारणा राखेका थिए । गौरादह बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख गोपाल काफ्लेले नेपालको इतिहासको बारेमा जानकारी गराएका थिए ।
कोण सभामा साहित्यकार खगेन्द्र न्यौपानेले साहित्य मार्फत राष्ट्रियताको पक्षमा खबरदारी गरेका थिए । दुर्गा गौतमले कार्यक्रम संचालन गरेका थिए ।






