काठमाडौं, २१ कार्तिक । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । स्थानीय तहका सदस्यको रिक्त पदका लागि भने कात्तिक २७ गते मनोनयन दर्ता गर्ने निर्वाचन कार्यक्रम तय भएको छ ।
आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तहको रिक्त पदको उपनिर्वाचनको तयारीका लागि विभिन्न जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।
निर्वाचन आयोगका अनुसार मुलुकका ३७ जिल्लामा ४८ वटा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।
जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरिएको निर्वाचन कार्यक्रम अनुसार कात्तिक २७ गते उम्मेदारको मनोनयनपत्र दर्ता गर्ने र सूची प्रकाशन गर्ने, २८ गते उम्मेदारको विरोधमा उजुरी दिने, २९ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गर्ने र नामावली प्रकाशन गर्ने, ३० गते नाम फिर्ता लिन चाहने उम्मेदवारले नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने र मङ्सिर १ गते उम्मेदारलाई निर्वाचन चिह्न प्रदान गर्ने छ ।रासस






