विराटनगर, १९ कार्तिक । भारतबाट मोरङको बुधनगरसम्म सञ्चालन गर्नसक्ने गरी रेलमार्ग निर्माण भए पनि तत्काल कार्गो रेलबाट सेवा लिन नसकिने भएको छ । निर्माणाधीन एकीकृत भन्सार जाँच केन्द्र (आईसीपी)सँगै बनेको नेपाल कस्टम यार्ड प्राविधिक रूपमा कार्गो रेलबाट सेवा लिन उपयुक्त नभएका कारण रेलबाट नेपालसम्मै सामान ढुवानी गर्ने योजना केही पछि सर्ने भएको छ ।
भारतको बन्दरगाहमा लोड भएको सामान जोगवनी हुँदै नेपालसम्मै ढुवानी गर्ने उद्देश्यले जोगवनी कटहरी रेल्वे लाइन विस्तार गरिएको थियो तर नेपालतर्फ निर्माण गरिएको यार्ड अत्यन्त साँघुरो भएका कारण कार्गो रेलबाट सेवा लिन सक्ने अवस्था नरहेको उद्योगी अविनाश बोहराले बताएका छन् ।
विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी मणिराम पौडेलले रेल्वे कस्टम यार्ड विस्तार गर्नुपर्ने सुझाव भन्सार विभागलाई गराइसकेको बताए अहिलेको यार्डसँगै जोडिएको पूर्वतर्फको जमिन अधिग्रहण गरेर यार्ड विस्तार गर्नसकिने सम्भावना रहेकाले त्यसको जानकारी पनि विभागलाई गराइएको उनले बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अविनाश बोहरा सरकारले तत्काल यार्ड विस्तार गर्ने प्रक्रिया अघि बढाउनुपर्ने बताए ।
बुधनगरदेखि कटहरीसम्म रेलवे लाइन विस्तारको काम भइरहेको र कटहरीमा पनि यार्ड बन्ने भएकाले तत्काल बुधनगरमा विस्तार नगर्ने हो कि भन्नेमा सरकार अलमलिएको देखिन्छ । यद्यपि विराटनगर भन्सार कार्यालयले नै बुधनगरको यार्ड विस्तार गर्नुपर्ने सुझाव दिएकाले विभागले सोहीअनुसार योजना बनाउने बताइएको छ । विराटनगरको बुधनगरमा निर्माण गरिएको एकीकृत भन्सार जाँच केन्द्र भन्सार विभागलाई हस्तान्तर गर्ने तयारी भइरहेको छ । त्यससँगै यात्रु तथा सबै मालवाहक ट्रक सोही मार्गहुँदै विराटनगर हुँदै गन्तव्यसम्म पुग्ने छन् ।गोरखापत्र






