Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, चैत्र २० । झापाको गौरादह नगरपालिका कार्यालयमा कार्यरत कर्मचारीहरुले आफ्नो जीउज्यानको सुरक्षा नभएको भन्दै सुरक्षा माग गरेका छन् ।

उनीहरुले नगरपालिका कार्यालयमा काम गर्ने क्रममा सम्पत्तिको ग्यारेन्टी नभएको, कर्मचारीमाथि असभ्य व्यवहार भएको तथा कार्यालय समयमा काम गर्ने वातावरण नरहेको बताएका छन् ।

उनीहरुले आफूहरुको भौतिक सुरक्षासहित कार्यालयमा काम गर्ने वातावरण बनाइदिन माग गरेका हुन् । कर्मचारीहरुले चार बुँदे माग राखी मंगलबार नगरपालिकाका मेयर रोहितकुमार साहलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

उनीहरुले ज्ञापन पत्र मार्फत कर्मचारीलाई ऐन, कानुन, विधि र प्रक्रिया विपरीत काममा लगाउने प्रवृतिको अन्त्य गर्नुपर्ने, कार्यालयमा काम गर्न मिल्ने उचित वातावरणको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेका छन् ।

आफूहरुको माग पूरा नभए सशक्त संघर्षमा उत्रिने उनीहरुले चेतावनी समेत दिएका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले मेयर साहलाईज्ञापन पत्र बुझाएका थिए ।

ज्ञापनपत्र बुझ्दै मेयर साहले कर्मचारीलाई कार्यालयमा काम गर्न सुरक्षित वातावरण बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले जनगुनासोलाई ऐन, कानुनअनुसार ढुक्क भएर काम गर्न निर्देशन दिए ।

तपाईको प्रतिक्रिया