Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

झगेन्द्र खड्का

गौरादह, १३ कार्तिक । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले निर्वाचन बाट मुलुकमा स्थायी सरकार बनेपछी लामो समय सम्म रहेको राजनितीक अस्थीरताको अन्त्य भएको बताएका छन् । मन्त्री कार्कीले गृह नगर गौरादहमा पत्रकार सम्मेलनको आयोजना गरि नेकपा एमाले र माओवादी पार्टी मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेपछी निर्वाचनमा जनताले स्पष्ट बहुमत दिएकाले पार्टीले जनमतको कदर गर्ने दाबी गरे ।

सरकार विकास निर्माण कार्यमा अघि बढेकाले काम गर्ने सिलसिलामा व्यवहारिक पाटोमा केहि कमि कमजोरी भएतापनि त्यसलाई सुधार गर्दै मुलुकको विकासमा सरकार पछाडी नपर्ने विचार व्यक्त गरे । पार्टी फुट्ने र सरकार ढल्ने वा दुई पार्टीमा मत मतान्तर देखिएको भन्ने जनमानसमा परेकाले वास्तविकता नरहेको र त्यो हल्ला मात्र रहेको बताएका छन् । समृद्ध नेपाल र सुखी नेपालीका लागि सरकारले दुवै छिमेकी मुलुक सँग सुमधुर सम्बन्ध कायम राख्दै उत्तर तर्फ बढि नाका खुलाउने तयारी सरकारले गरिरहेको धारणा राखे ।

सरकारले मुलुक भित्र रहेका हुलाकी राजमार्ग, रेलमार्ग, मध्यपहाडी लोकमार्ग, आवश्यक पर्ने ठाउँमा सुरुङ्ग मार्ग जस्ता मूख्य काम गर्न सरकारले शुरु गरेको बताएका छन् । मुलुक भित्र रहेका जलस्रोतको उपयोग गरि हाइड्रोपावर बनाउने कृषि क्षेत्रलाई आधुनिकिकरण गरि निर्यात बढाउने, रोजगारीका अवसर सिर्जना गराई गरिबि निवारण गर्ने, पर्यटन क्षेत्रको विकास गर्ने, कलकारखाना बढाउने लगायतका कामहरु सरकारले शुरु गर्ने बताए । दक्ष जनशक्तिको अभावका कारण काममा ढिलासुस्ती भई जनताले सोचे जस्तो काम हुन नसकेको स्वीकार गर्दै कर्मचारी थप गर्ने कार्य शुरु भइसकेकाले छिटो छरितो काम गर्न सरकारले सम्झौता नगर्ने धारणा राखेका थिए ।

दुई वर्षको अवधिमा प्रदेश सरकारले सर्व सहमतिका आधारमा प्रदेशको राजधानी टुंगो लगाएकाले आगामी हिउँदै अधिवेशनमा प्रदेशको नामाकरणको टुंगो लगाउने बताए । प्रदेशको नामाकरणको लागि कोसी, सगरमाथा, मेचे, विराट, किराँत र लिम्बुवान जस्ता नामहरु प्रस्तावको रुपमा आएकाले सबैको भावनालाई समेट्न सकिने र सबैको अपनत्व कायम हुने साझा नाम सर्वसम्मत बाट राखिने धारणा राखेका छन् ।

प्रदेश नं. १ ले ४२ वटा कानुन बनाइसकेकाले तिनै तहका सरकारलाई समेटिने गरि कानुन बनेको बताए । विकासका लागि प्रदेश भित्र सबै क्षेत्रमा सन्तुलित ढंगले विकास गर्ने बताए । प्रदेश भित्र शान्ति सुरक्षा कायम राख्न प्रदेश सरकारले प्रहरी ऐन निर्माण भइसकेको बताउँदै आगामी पुष बाट प्रहरी समायोजनको काम गरि जनतामा शान्ति सुव्यवस्था कायम गराउने प्रतिबद्धता जनाए ।

भ्रष्टाचार सम्बन्धि विषयमा सञ्चारकर्मीहरुले उठाएको जिज्ञासाको जवाफ दिंदै मन्त्री कार्कीले राजनितीक अस्थीरताका कारण मौलाएको भ्रष्टाचार नियन्त्रण गर्न सरकारले चासो बढाईरहेको र काममा बिचौलियाको हाबी र भ्रष्टाचारलाई नियन्त्रण गरेर छाड्ने बताए ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments