गौरीगंज, ६ कार्तिक । नेपाल महत्तो समाज कल्याण परिषद गौरीगंजले रक्तदान, शुभकामना आदनप्रदान एवं वृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। शुभदिपावली तथा छठ पर्वको उपलक्ष्यमा प्रत्येक वर्ष मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रमका साथ रक्तदान कार्यक्रम सहित मनाउदै आएको शुभकामना आदन प्रदान कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको महत्तो समाजका अध्यक्ष मखना महतोले बताए।
नेपाल रेडक्रस सोसाईटी उप शाखा दमकको प्राविधिक सहयोग रहेको रक्तदान कार्यक्रममा एक महिला सहित ४८ जनाले रक्तदान गरेका थिए। रक्तदान कार्यक्रममा गौरीगंज क्षेत्रका प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी सहित स्थानीय बासिहरु सहभागी भएका थिए। संकलित ४८ पिन्ट रगत नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार शाखा दमकमा जम्मा गरिएको आयोजकले जनाएको छ।

अतिथि सदन प्राङ्गणमा संचालन गरिएको सांस्कृतिक कार्यक्रममा स्थानीय तथा बाहय कलाकारहरुले कला प्रदर्शन गरेका थिए। कलाकारहरुले विद्यालयका बिद्यार्थीहरुले नृत्य प्रदर्शन गरेका थिए। गौरीगंज दर्पणका सम्पादक तथा पत्रकार मदन राजवंशीले गजल प्रस्तुत गरेका थिए। महत्तो समाजका जेष्ठ सदस्य दुई जनालाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरुमा ७३ बर्षिया रामजी महत्तो र ७२ बर्षिया सुनदाई महत्तो रहेका छन। रक्तदान तथा नृत्यमा सहभागीहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो।
महत्तो समाजका केन्द्रीय अध्यक्ष मखना महत्तोको सभापतित्वमा सम्पन्न कार्यक्रममा गौरिगंज गाउपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ प्रमुख अतिथि रहेका थिए। त्यसअबसरमा झापा उद्योग बाणिज्य संघ शाखा गौरीगंज उपाध्यक्ष निरज अग्रवाल,गौरीगंज गाउपालिका प्रशासाकिय अधिकृत राजकुमार साक्य, नवजाग्रिती युवाक्लव अध्यक्ष श्रवण गिरी,मेची यतायत ब्याबसायी संघ गौरीगंज अध्यक्ष उतम दास, गौरीगंज क्याम्पस प्रमुख सर्वत लाल राजवंशी, देवकोटा मा.वि. प्रधानाध्यापक जनार्दन ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए। महत्तो समाजका सदस्य सन्तोष महत्तोले स्वागत मन्तव्य राखेको कार्यक्रममा सचिव कृष्ण महत्तोले संचालन गरेका थिए।






