Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

टीकाराम उप्रेती
झापा,  २  कातिक  ।  नेपाल पहिलो पटक अविष्कार केन्द्र सञ्चालन हुदै गर्दा झापामा एक जना युवा वैज्ञानिकले साइरन ड्रोन निर्माण गरेर जंगली हात्ती धपाउने नयाँ प्रबिधि अविष्कार गर्नुभएको छ ।
भद्रपुर नगरपालिका १ निवासी अनिल प्रधानले आफ्नै घरमा साइरन जडान गरिएको ड्रोन निर्माण गरि जंगली हात्ती धपाउन सबैभन्दा प्रभावकारी नयाँ उपाय प्रयोगमा ल्याउनुभएको हो । प्रधानले का अनुसार घर नजिकमा जहिले पनि जंगली हात्ती आउने र दुःख दिने र हात्तीको आक्रमणबाट धेरै मानिसको मृत्यु भएकोले गर्दा हात्तीलाई कसरी धपाउन सकिन्छ भन्ने बिषयमा अध्ययन अनुसन्धान गर्दा सो परिणाम आएको उनले बताए ।

यसैक्रममा मौरी कराएको आवाजबाट हात्ती सबैभन्दा बढी डराउने पत्ता लगाए । यही मौरीको भुनभुन आवाजलाई ड्रोनमा जडान गरिएको छ । यसरी जडान गरिएको ड्रोनमा रातो बत्ती समेत प्रयोग गरिएको छ । यही ड्रोन हात्तीको नजिकै लगेर उडाएपछि मौरी आएको त्रासमा हात्ती ठुलो आवाजका साथ गर्जदै जंगल तिर भाग्ने गरेको प्रधानले बताउनुभयो । ड्रोन हात्तीले पाँच किलोमिटर दुरीसम्म रिमोटले काम गर्ने भएकाले आफुपनि सुरक्षित भएर हात्तीलाई टाढाबाट नै धपाउन सकिने उनको भनाइ छ ।

यही परिक्षणबाट नयाँ प्रबिधिको प्रयोग सफल भएको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताएका छन् । हात्तीलाई कुनै क्षति बिना भगाउन सकिने यो सबैभन्दा प्रभावकारी उपाय भएको उनको दाबी छ । धेरै प्रयोग भएपछि हात्तीले यो प्रविधिलाई चिनेर नटेर्ने अवस्था समेत आउन सक्ने घिमिरेले बताए । डिभिजन वन कार्यालय झापाको समेत सहभागितामा स्थानीय बासिन्दा सहितको टोली हात्ती धपाउन साइरन ड्रोनको परीक्षण गरेका थिए ।

यसको पहिलो पटक बिहीबार र शुक्रवार राती जंगली हात्ती धपाउने औपचारिक परीक्षण सफल भएको छ । परीक्षणको क्रममा शुक्रवार राती साढे दुई बजे भद्रपुर नगरपालिका कै जलथल क्षेत्रमा आएको पाँचवटा जंगली हात्ती धपाएको थियो । यस्तै बिहीबार राती मेची नपाको दुवागढीमा आएको सातवटा जंगली हात्ती धपाउन सफल भएको थियो ।

कक्षा १२ मा अध्ययनरत प्रधानको सानैदेखि अन्वेषणको बानी थियो । कम्प्युटर तथा इलेक्ट्रोनिक्स क्षेत्रमा बिषेश रुची रहेको उहाँले बताउनुभयो । यही प्रधानको प्रतिभा देखेपछि भद्रपुर नगरपालिकाले समेत साइरन ड्रोन निर्माणकालागि आर्थिक सहयोग प्रदान गरेको भद्रपुर नगरपालिकाका मेयर जीवन कुमार श्रेष्ठले बताएका छन्। नगरपालिकाको लगानी भएकाले ड्रोनमा भद्रपुर नपा साइरन ड्रोन लेखिएको छ
यही सहयोगबाट ड्रोनका लागि आवश्यक सामान खरीद गरि कुल अढाई लाखको लागतमा निर्माण गरिएको प्रधानको भनाइ छ ।

हात्ती उपद्रोको जोखिम न्यूनीकरण गर्न १८ किलोमिटर लामो बिद्युतीय बार समेत लागाईको छ । जिल्लाको दक्षिण पूर्वी कचनकवल गाउँपालिका देखि पूर्वी उत्तरमा मेची नगरपालिकाको बाहुनडाँगीसम्मको १५२ किलो मिटर क्षेत्रलाई हात्ती कोरिडोर क्षेत्र घोषणा गरिएको छ ।

यो क्षेत्रको भौतिक बिकास लगायतका बिषयको लागि भनेर नेपालको संघीय सरकारले आर्थिक बर्ष २०७५/७६मा ६ करोड रुपियाँ विनियोजन गरिएको थियो । जिल्लामा अहिलेसम्म जंगली हात्तीको आक्रमणबाट मात्र ३९ जनाको मृत्यु भएको डिभिजन वन कार्यालयका प्रमुख घिमिरेले बताउनुभयो । यो प्रबिधि हात्ती प्रभावित क्षेत्रका लागि सबैभन्दा राम्रो उपाय मानिएको छ ।गोरखापत्र

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments