काठमाडौं, २८ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महराबाट बलात्कार प्रयासकी पीडित रोशनी शाहीको शरीरमा लागेका चोटपटकमा बाहिरी मानिसको संलग्नता रहेको पुष्टि भएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको फरेन्सिक जाँचबाट रोशनीको अनुहार लगागत शरीरका विभिन्न भागमा लागेको चोटपटकमा बाहिर मानिसको संलग्नता देखिएको उच्च स्रोतले जानकारी दियो । प्रहरीले रोशनीलाई असोज १७ गते त्रिवि शिक्षण अस्पताल लगेर स्वास्थ्य परीक्षण गराएको थियो ।
स्रोतका अनुसार नियमित स्वास्थ्य अवस्था र अपराध अनुसन्धानसम्बन्धी प्रमाण संकलनका लागि गरिएको रोशनीको ‘फरेन्सिक जाँच प्रतिवेदन’ अस्पतालले प्रहरीलाई दिइसकेको छ ।
रोशनीमाथि बलात्कार प्रयास आरोपमा निवर्तमान सभामुख महरा असोज १९ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै पक्राउ परेका थिए । पक्राउ परेकै दिन राति उनको पनि त्रिवि शिक्षण अस्पतालमै स्वास्थ्य परीक्षण गरिएको थियो । उनको फरेन्सिक जाँचसमेत गरिएको थियो । उनको स्वास्थ्य परीक्षण प्रतिवेदन आइनसकेको स्रोतको भनाइ छ ।
असोज १८ गते रोशनीले महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा महराले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन् । त्यसको भोलिपल्टै काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउ गर्न पुर्जी जारी गरेको थियो ।
महरा अहिले प्रहरी निगरानीमै थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार क्रममा छन् । मुटु र श्वासप्रश्वासमा समस्या देखिएपछि उनी चिकित्सकको रायअनुसार अस्पताल भर्ना भएका हुन् । मंगलबार अदालत खुलेपछि महरालाई अनुसन्धानका लागि म्याद थप गर्न लैजाने प्रहरीको तयारी छ ।कान्तिपुर दैनिक






