गौरादह, ११ असोज । गौरादह नगरपालिका वडा नं ७ को ग्वालडुब्बामा सामुदायिक भवन बन्ने भएको छ। भवन निर्माण स्थलमा आज एक कार्यक्रमका बिच प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले भवनको शिलान्यास गरे। भवन शिलान्यास पछि मन्त्री कार्कीले गाउँ तथा नगरको विकासकालागि स्थायित्व र दिगो विकासका काममा महत्व दिन सबैमा आग्रह गरे । प्रदेश सरकारले प्रदेश भित्रका महत्वपूर्ण कामहरूलाई छनौट गरि प्राथमिकताका आधारमा काम गर्दै जाने बताए।
कार्यक्रमका विशेष अतिथि गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाहले स्थानीय सरकारले नगरभित्र गरेका विकास निर्माणका कामको जानकारी गराउदै नगर भित्रका सार्वजनिक स्थल, मठ, मन्दिर, बजार, सामुदायिक भवन सडक निर्माणमा सहयोग गरेको बताएका थिए।
ग्वालडुब्बामा निर्माण हुने दुर्गा सामुदायिक भवन ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ को टिन छानो लगाएर बनाईने भवन प्रदेश सरकार मार्फत शहरी बिकाश तथा भबन निर्माण कार्यलय ईलामबाट १ करोड १४ लाखको लागतमा बन्ने भएको छ। भवन निर्माणकालागि गरिमा निर्माण सेवा भद्रपुरले जिम्मा पाएको छ। भवन आगामी असार मसान्त सम्ममा निर्माण सम्पन्न गरिने भबन निर्माण समितिका सदस्य दुर्गामणी दाहालले जानकारी गराए।
भवन निर्माणकालागि स्थानीय सूर्य प्रसाद दाहाल, जीवन कोईराला, सरोज र कृष्ण बिष्ट, नर बहादुर खड्का, बिष्णु निरौला पुर्ण बहादुर डाँगी र दुन बहादुर राजबंशीले निशुल्क ८ कठ्ठा १० धुर जग्गा प्रदान गरेका थिए।
मुख्य सडकबाट भवन स्थल सम्म पुग्न गौरादह नगरपालिकाले ५ लाख रूपैया लागतको सडक निर्माण गर्नुका साथै भवनको डि.पि.आर. समेत गरेको गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाहले जानकारी गराए। जग्गा दाता सूर्य प्रसाद दहालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।






