विराटनगर, २ असोज । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले एनजिओ र आइएनजिओहरुलाई स्थानीय, प्रदेश र संघिय सरकार संग समन्वय गरेर समुदायमा जान आग्रह गर्नुभएको छ ।
सामाजिक विकास मन्त्रालयले बिहिवार विराटनगरमा आयोजना गरेको विकास बहस कार्यक्रममा बोल्दै मुख्यमंत्री राईले प्रदेशमा विकास निर्माण कार्यलाई प्रभावकारी बनाउन र समयमा सम्पन्न गराउदै लगानी भित्र्याउन एकद्वार प्रणाली लागू गर्न लागेको जानकारी दिनुभयो । उहाँले स्थानीय र प्रदेशमा स्थानीय सरकारहरु आईसकेकाले निर्वाचित सरकारहरु संग मिलेर जानुको विकल्प नभएको बताउनु भयो ।
प्रदेश नं. १ को विकासमा अन्तर्राष्ट्रिय संस्थाहरुको भूमिका बारे छलफल गर्न आयोजित सो कार्यक्रममा ३३ वटा अन्तर्राष्ट्रिय संस्थाहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा प्रदेश नं। १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो र सामाजिक विकास मन्त्री जीवन घिमिरेले विकास निर्माण, पूर्वाधार र सामाजिक विकासका क्षेत्रमा अन्तर्राष्ट्रिय दातृ संस्थाहरु संग सहकार्य गरेर जनताको चेतना स्तर विकास गर्दै अघि बढ्न तयार रहेको जानकारी दिनुभयो ।न्युज२४






