Online Bichar
शुक्रबार, जेठ २९, २०८३ | Friday, June 12, 2026

विराटनगर,  २५  भदौ  ।  झापाको गौरादह नगरपालिका-६ दामुना बजार घर भएका ४५ वर्षीय पुण्य चुँडालले दुई वर्षदेखि आफूसँगै राखेकी एक महिलाको हत्या गरेका छन् । महिलाको हत्यापछि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय सिजुवाबाट प्रहरी निरीक्षक मोहन रायमाझीको नेतृत्वमा खटिएको टोलीले मोरङको उर्लाबारीस्थित दुर्गापुरीबाट मंगलबारराति पक्राउ गरेको छ ।

प्रहरीले हत्या गरिएकी अन्दाजी ३५ वर्षीया महिलाको भने अहिलेसम्म पहिचान खुल्न सकेको छैन। गत शनिबार बिहान रतुवामाई नगरपालिका-६ का हरिबहादुर खड्काको खाली रहेको ग्वाली घरमा शरीर भरी नलिडाम र चोटपटक रहेको अवस्थामा ती महिला अचेत अवस्थामा भेटिएकी थिइन् ।

प्रहरीले उद्धार गरेर उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याएकी उनको आइतबार राति मृत्यु भएको थियो । स्थानीय बासिन्दाले दुई वर्षदेखि ती महिला पुण्यसँगै हिँड्ने गरेको र अत्यधिक मदिरा सेवन गरेर हिँड्न नसकेको भन्दै ग्वालीमा ल्याएर छाडेर चुँडालले काम गर्न जान्छु भन्दै उनी हिँडेको जानकारी प्रहरीलाई दिएका थिए ।

शुक्रबार राति अत्यधिक मदिरा सेवन गरेर दुवै जनाबीच झगडा भएको र त्यही क्रममा पुण्यले लात्ता र मुक्‍काले प्रहार गर्दा महिलाको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीकाअनुसार दुई वर्षअघि झापाको दमकमा ज्याला मजदुरी गर्ने क्रममा पुण्य र ती महिलाको भेट भएको खुलेको छ । डीएसपी श्रेष्ठले दुई वर्षदेखि आफूसँगै राखे पनि ती पुरुषले महिलाको बारेमा थाहा नभएको बताएका छन् ।

प्रहरीकाअनुसार नाम सिर्जना पोखरेल र घर झापाको बिर्तामोड हो भनेर आफूलाई सुनाएको हत्यामा संलग्न पुण्यले बताए पनि नाम र ठेगाना यकिन भएको छैन । काम गर्ने क्रममा भेट भएपछि दुवै जनासँगै बस्ने सल्लाह गर्‍यौं । दुवै मिलेर मदिरा सेवन गर्ने गरेका थियौं, उनलाई उद्रित गर्दै प्रहरीले भन्यो, तर उनको नाम र ठेगाना कहाँ हो भन्ने कुरा मलाई थाहा छैन ।
दुईजनासँगै बस्ने भएपछि केही समय धनुषाको ढल्केबरमा गएर होटलमा भाँडा माझ्ने काम पनि गरे। डीएसपी श्रेष्ठकाअनुसार दुवैजनाको बस्ने ठाउँको यकिन थिएन् । काम गर्ने क्रममा जहाँ पुग्यो त्यहीं बस्ने गरेको खुलेको उनले बताए ।

घटना भएको रात कसैले पनि बास नदिएपछि दुवैजना एउटा बाँस झ्याङमा गएर बसेको र महिलामाथि त्यहीँ कुटपिट गरेको खुलेको प्रहरीको भनाइ छ । पुण्य यसअघि पनि विभिन्न अपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीले जनाएको छ । चोरी, सर्वजनिक अपराध, महिलामाथिको दुरव्यवहारलगायतका घटनामा उनी पटक-पटक जेल परेर छुटेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विभिन्न अपराधिक गतिविधिमा संलग्न भएकै कारण उनलाई गाउँले र घर परिवारले पनि बहिस्कार गरेको पाइएको छ । श्रीमतीले पनि छाडेर हिँडेको प्रहरीले जनाएको छ । बहिस्कारपछि उनी गाउँमा नजाने र बाहिरबाहिरनै बस्ने गरेको खुलेको छ । पक्राउ परेका पुण्यविरुद्ध बुधबार कर्तव्य ज्यान मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । मदिरा सेवन गरेर झगडा गर्न थालेपछि खुट्टा र मुक्‍का हानेर कुटपिट गरेको र उठ्नै नसक्ने भएपछि छाडेर हिँडेको उनले प्रहरीलाई बताएका छन् ।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments