Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

विराटनगर,  २३  भदौ  ।  विराटनगर-७ मा रहेको ॐ जेके पानी उद्योगले प्रशोधन गरेको पानीमा मान्छेको दिसामा पाइने ‘कोलीफर्म’ जीवाणु रहेको पुष्टि भएको छ। उद्योगले बिक्रीका लागि बजारमा लैजान तयारी अवस्थामा राखेको पानीमै मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिने ‘कोलीफर्म’ भेटिएको हो। प्रशोधित ‘एच टु’ ब्राण्डको पानीमा ‘कोलीफर्म’ भेटिनुलाई उद्योगको चरम लारपबाहीका रुपमा लिइएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले गत मंगलबार अनुगमन गर्दा शौचालयको सेफ्टी ट्यांक (हज) सँगै जोडर उद्योगको बोरिङ मेसिन राखेको फेला परेको थियो। त्यस लगत्तै उद्योगलाई उत्पादन र बिक्रीमा रोक लगाएर पानीको नमुना संकलन गर्दै कार्यालयले ल्याब परीक्षणका लागि लगेको थियो। आइतबार आएको परीक्षण रिपोर्टका बारेमा जानकारी दिँदै कार्यालयका प्रमुख प्रमोद कोइरालाले मानिसको स्वास्थ्यका लागि असर गर्ने ‘कोलीफर्म’ जीवाणु प्रशोधित पानीमा रहेको पुष्टि भएको बताए।

‘अनुगमनका क्रममा सेफ्टी ट्यांकीसँग जोडेर बोरिङ मेसिन राखेको पाइएपछि पानी उत्पादन र बिक्रीमा रोक लगाइएको थियो,’ उनले भने, ‘पानीको नमुना परीक्षण गर्दा घातक जीवाणु ‘कोलीफर्म’ नै भेटियो।’ उनले अन्य उद्योगले पनि पानी प्रशोधनका क्रममा लापरबाही गरिरहेको जानकारी आएका कारण तत्काल अनुगमन गरेर सबैलाई कारवाही अघि बढाइने बताए।

प्रशोधित पानीमा ‘कोलीफर्म’ भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले खाद्य ऐन २०२३ खाद्य नियमावली बमोजिम उद्योग विरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गर्दै आएको छ। उद्योगका सञ्चालकहरूको बयान लिने काम कार्यालयले सकेपछि प्रक्रियागत रुपमा प्रशासनमा मुद्दा दर्ता गरिने कोइरालाले बताए। उक्त मुद्दामा दोषी ठहर भए ५ देखि १० हजार रुपैयाँसम्म जरिवाना अथवा ५ महिनादेखि एक वर्षसम्मको कैद सजाय वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।

जेके पानी उद्योग जितेन्द्रकुमार यादव, ओमप्रकास राउत र कौशलन्द्रकुमार कर्णले संयुक्त रुपमा सञ्चालन गरेका हुन्। उक्त उद्योगमा अनुगमन गर्दा प्रशोधित पिउने पानी उत्पादन मापदण्ड २०७४ मा रहेको प्रावधान अनुसार उद्योग सञ्चालन नभएको, प्रवेशद्वार नजिक हात धुने बेसन नभएको, जार धुने ठाउँ खुल्ला ठाउँमा रहेको फेला परेको थियो।

प्रमुख कोइरालाका अनुसार उद्योगबाट दैनिक तीन हजार लिटर पानी प्रशोधन भएर बिक्रीका लागि बजारमा जाने गरेको खुलेको छ। कोसी अस्पताल विराटनगरका वरिष्ठ फिजिसियन रोशन खड्काले मान्छेको दिसामा पाइने जीवाणु ‘कोलीफर्म’ मिसिएको पानी पिउँदा मान्छेको स्वास्थ्यमा गम्भीर असर पर्ने बताए। उनका अनुसार ‘कोलीफर्म’युक्त पानीले आउँ, झाडापखाला, जण्डिस लगायतका समस्या देखा पर्नुका साथै मिर्गौला तथा कलोजोमा पनि असर गर्छ।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments