Online Bichar
आइतबार, बैशाख ३०, २०८१ | Sunday, May 12, 2024

काठमाडौं, २२ भदौ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेशी तथा विदेशी शिक्षण संस्थाबाट विभिन्न उपाधि हासिल गरेका उत्कृष्ट नेपाली छात्रछात्राहरुलाई नेपाल विद्याभुषण पदक प्रदान गर्नुभएको छ ।

४० औं राष्ट्रिय शिक्षा दिवस, २०७६ तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आज आइतबार राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा राष्ट्रपतिले २३१ जनालाई ‘क’ श्रेणीको नेपाल विद्याभुषण प्रदान गर्नुभएको हो ।

त्यसैगरी १०१ जनालाई ‘ख’ श्रेणीको र ११ जनालाई ‘ग’ श्रेणीको नेपाल विद्याभुषण पदक प्रदान गर्नुभयो । नेपालभित्रका विश्‍व विद्यालय/प्रतिष्ठान/परिषद्‍बाट स्नातक तहतर्फ छात्रामध्ये उत्कृष्ट हुनेलाई नेपाल छात्रा विद्यापदक समेत २३ जनालाई प्रदान गर्नुभयो । साथै नेपालभित्रका विश्‍व विद्यालयरप्रतिष्ठानरपरिषद्‍बाट प्रमाणपत्र तह वा सो सरहतर्फ छात्रामध्ये उत्कृष्ट हुनेलाई नेपाल छात्रा विद्यापदक ७ जनालाई प्रदान गरिएको छ ।

सो अवसरमा सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले शिक्षा राष्ट्रिय विकासको महत्वपूर्ण बगैँचा भएको बताउनुभयो । उहाँले शिक्षारुपी बगैँचाको आवश्यक स्याहार सम्भार गर्दा सबैको लागि सबै प्रकारको फल फलाउन सकिने धारणा राख्‍नुभयो । साथै उपलब्ध साधनस्रोतलाई अधिकतम दिगो र सुन्दरतम प्रयोग गर्नका लागि शिक्षा प्रभावकारी साधन भएको उहाँको भनाइ थियो ।

उच्च शिक्षाको आधारको रुपमा रहेको विद्यालय शिक्षालाई बदलिँदो परिवेश र हाम्रो आवश्यकताअनुसार पाठ्यक्रम निर्धारण गरी गुणस्तरीय पाठ्यक्रमसहितको अध्ययन कार्य व्यवस्थित पार्न सुझाव दिँदै उहाँले अध्ययनको क्रममा प्राप्त ज्ञान र सीपलाई वर्तमान सरकारले अघि सारेको “समृद्ध नेपाल, सुखी नेपाली” को साझा राष्ट्रिय संकल्प साकार पार्नतिर लगाउनुपर्नेमा जोड दिनुभयो ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, रक्षामन्त्री ईश्वर पोखरेल, समाभुख कृष्ण महरालगायत उपस्थित हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया