Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

विराटनगर,  १८   भदौ  ।  विराटनगरमा सञ्चालमा रहेका पानी उत्पादन गर्ने उद्योगले चरम लापरवाही गर्ने गरेको पाइएको छ। शुद्ध पिउने पानी उत्पादनका लागि भन्दै खुलेका उद्योगले बोरिङ मेसिननै सौचालयको सेफ्टी ट्यांकी (हज) सँग जोडेर राख्ने गरेको फेला परेको हो।

विराटनगर महानगरपालिका-७ बुद्धमिलन चौकस्थित ‘ऊ जे.के. पानी उद्योग’ ले सेफ्टी ट्यांकीमै जोडेर बोरिङ मेसिन राखेको फेला परेपछि प्रशोधित पानी उत्पादनमा हुने गरेको लापरबाही बाहिर आएको हो।

मंगलबार दिउँसो खाद्य, प्रविधि तथा नियन्त्रण कार्यालयले गरेको अनुगमनका क्रममा उद्योगको लापरवाही पुष्टि भएको छ। बोरिङ मेसिन सौचालयको सेफ्टी ट्यांकीमा जोडेर राखेको पाइएपछि अनुगमन समितिले तत्कालका लागि उद्योगलाई पानी उत्पादन र बिक्री वितरणमा रोक लगाएको छ।

खाद्य निरीक्षक शंकर न्यौपानेको नेतृत्वमा भएको अनुगमनबाट हज नजिक उद्योगको बोरिङ मेसिन राखेको भेटिएपछि तत्कालका लागि उद्योगले उत्पादन गर्ने ‘एच टु’ पानी उत्पादन र बिक्री वितरणमा रोक लगाइएको हो। हज नजिक बोरिङ मेसिन भएकाले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने कोलिफार्म जीवाणु हुन सक्ने आशंकामा पानी उत्पादन र बिक्रीमा प्रतिबन्ध लगाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख प्रमोद कोइरालाले जानकारी दिए।

उनका अनुसार अनुगमन टोलीले दुई थान प्रशोधित पानीसहितको जार ल्याब परीक्षणका लागि ल्याएको छ। ‘पानीमा मान्छेको दिसामा हुने अत्यन्तै हानिकारक कोलिफार्म देखा पर्ने शौचालयको हजबाटै हो। पानीको नमुना संकलन गरेर ल्याब परीक्षणका लागि ल्याइएको छ ,’ कोइरालाले भने, ‘पानी कोलिफार्म भए नभएको कुरा ल्याब परीक्षण रिपोर्टपछि मात्रै भन्न सकिन्छ। रिपोर्ट आउन ४८ घण्टा लाग्छ।’

कोइरालाले पानीमा कोलिफार्म रहेको पुष्टि भए उद्योग सञ्चालकमाथि थप कारबाही अघि बढाइने बताए। रिपोर्ट नआएसम्म पानी उत्पादन र बिक्री गर्न नपाउने उनले बताए। मानव स्वास्थ्यलाई असर गर्ने कुनै कुरा परीक्षणका क्रममा भेटिएन भने पनि आगामी दिनमा पानी उद्योग सञ्चालन गर्न कसरी अनुमति दिने भन्ने बारेमा भने आवश्यक निर्णय लिइने उनको भनाइ छ।

जितेन्द्रकुमार यादव, ओमप्रकाश राउत र कौशलन्द्रकुमार कर्णले सञ्चालन गरेका पानी उद्योग, प्रशोधित पिउने पानी उत्पादन मापदण्ड २०७४ मा रहेको प्रावधान अनुसार उद्योग सञ्चालन नभएको अनुगमनमा देखिएको छ।

उक्त पानी उद्योग प्यानमा दर्ता छ। गुण नियन्त्रण कार्यालयले दिएको अनुज्ञापत्र भने उपभोक्ताले देख्ने गरी नराखेको पाइएको अनुगमन समितिले जनाएको छ। उद्योग सञ्चालक मध्येका राउतका अनुसार उद्योगबाट दैनिक तीन हजार लिटर बढी पानी प्रशोधन भएर बिक्रीका लागि बजार लगिन्छ। उनले आगामी दिनमा पानी उत्पादनमा सावधानी अपनाएर सुधार गर्दै लैजाने बताए।

विराटनगरमा ५१ वटा पानी उद्योग छन्। पानी उत्पादक महासंघ प्रदेश १ का अध्यक्ष पुण्य भट्टराई पानीका सवालमा सरकारको मापदण्ड र नीति नै विवादित रहेको बताउँछन्।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments