मोरङ, १७ भदौ । मोरङको कानेपोखरीमा घरपालुवा पंक्षीमा बर्डफ्लुको संक्रमण भएको पाइएपछि त्यहाँको पंक्षी नष्ट गरिएको छ । कानेपोखरी-३ हरकपुरको यसोधरा कृषि फर्ममा पालिएका हाँस, टर्की, स्थानीय कुखुरा र बट्टाइमा बर्डफ्लुको संक्रमण देखिएको पशु ज्ञान केन्द्र मोरङका प्रमुख सुशील अधिकारीले बताए ।
सो फर्ममा रहेका केही कुखुरा बिहिबार मरेपछि पशु प्रयोगशाला विराटनगर र केन्द्रीय पशु प्रयोगशाला त्रिपुरेश्वरमा नमुना परीक्षण गरिएको थियो । नमुना परीक्षणपछि बर्डफ्लु पुष्टि भएको प्रमुख अधिकारीले बताए ।
बर्डफ्लु पुष्टि भएसँगै सोमबार फर्ममा पालिएका २ सय २२ पंक्षीका साथै १५ क्विन्टल कुखुराको दानाको कच्चा पर्दाथ र ४ मन दाना पनि नष्ट गरिएको छ । फर्मका संचालक प्रसाद मिश्रका अनुसार २ दिनअघि नै सो फर्मका २ सयभन्दा बढी कुखुरा मरेका थिए । रोगको संक्रमण फैलिएको स्थानमा सिल गरिने पशु ज्ञान केन्द्र मोरङले जनाएको छ ।






