Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

नेपालमै पनि नेपाल सरकारले हालै गरिएको किशोरकिशोरी तथा युवा सर्वेक्षणअनुसार करिब ६२ प्रतिशत युवक तथा २७ प्रतिशत युवतीले डेटिङका बेला यौनजन्य गतिविधि गर्ने गरेको र ४० प्रतिशत युवक तथा ९ प्रतिशत युवतीले डेटिङका बेला यौनसम्पर्क राख्ने गरेको तथ्यबाट पछिल्लो नेपाली पिँढि सेक्सका मामिलामा उदारपन हुन थालेको देखिन्छ ।

कतिपय नेपाली युवायुवतीले कण्डम प्रयोग गर्न झिँजो मान्ने तथा कतिपयका कण्डम अप्रत्यासित तवरले फुट्ने कारणले यसको परिणामस्वरूप सम्पर्कको केही दिनपछि पिसाब जाँचको क्रममा प्रेगनेन्सी पोजिटिभ देखियो भने पार्टनरबीच झगडा उत्पन्न हुने र सम्बन्ध बिग्रिन बेर लाग्दैन ।

र, त्यही सर्वेक्षणमा पनि केवल २१ प्रतिशत युवक र १६ प्रतिशत युवतीलाई मात्र आकस्मिक चक्कीबारे ज्ञान रहेको पाइयो । त्यसैले पनि इमर्जेन्सी कन्ट्रासेप्सन अर्थात् आपतकालीन गर्भ निरोधक विधिबारे थाहा पाउनु जरुरी छ ।

कानुनी तवरले नेपालमा १२ हप्तासम्मको गर्भपतन गराउन सकिने भए पनि यसबाट पर्न जाने आर्थिक भार, मानसिक तनाव एवं सफा ठाउँमा गर्भपतन नगराएको खण्डमा पाठेघरको भित्री तह पाक्ने, संक्रमण हुन सक्ने कारणले गर्दा सुरक्षित यौन सम्पर्कको अभ्यास गर्नु बुद्धिमानी हुन्छ ।

असुरक्षित यौन सम्पर्कको ५ दिनपछि अर्थात् आपतकालीन गर्भ निरोधकका लागि उपयुक्त समय घर्किसकेपछि सुरक्षित गर्भपतनको बाटो देखाइदिनु सिवाय अर्को विकल्प हुँदैन । गर्भ रहने क्रममा डिम्ब निष्कासन, यौन सम्पर्क, वीर्य स्खलन, डिम्ब निशेचन तथा डिम्बारोपणको तारतम्य मिल्नुपर्दछ ।

तर कण्डम फुट्नाले, कण्डम लगायतका अस्थायी साधन अपनाउन अल्छी गर्नाले, नियमितरूपमा पिल्स चक्की खान बिर्सिनाले तथा बलात्कार ९बलजफ्ती करणी० जस्तो असुरक्षित यौन सम्पर्कका कारणले अनिच्छित गर्भ रहन सक्छ । अविवाहिता केटीमा अनिच्छित गर्भ रहन गएमा स्थिति धेरै तनावपूर्ण हुन्छ ।

माथि उल्लेखित परिस्थितिहरूको परिणामस्वरूप गर्भ रहन नदिनका लागि गरिने उपायलाई आकस्मिक परिवार नियोजन (आपतकालीन गर्भ निरोध) विधि अर्थात् मेडिकल भाषामा ‘इमर्जेन्सी कन्ट्रासेप्सन’ भनिन्छ ।

आजकल आपतकालीन गर्भ निरोधका लागि प्रोजेस्टेरोन नामक हर्मोन मात्र भएको पिल्स चक्की पनि पाइन्छ । यसअघि इस्ट्रोजेन र प्रोजेस्टेरोन दुवै हर्मोन भएको पिल्स चक्की पाइन्थ्यो । इमर्जेन्सी कन्ट्रासेप्सनअन्तर्गत दुवै हर्मोन भएको पिल्स चक्की शारीरिक सम्पर्क भएको यथाशक्य चाँडो दुई चक्की खानुपर्दछ ।

त्यसको १२ घण्टापछि पुनः थप दुई चक्की खानुपर्छ । त्यसैगरी लेभोनोरजेस्ट्रेल ९प्रोजेस्टेरोन मात्र० भएको पिल्स चक्की दुई मात्रा १२ घण्टाको अन्तरालमा खानुपर्छ । पहिलो मात्रा असुरक्षित यौन सम्पर्क भएको ७२ घण्टाभित्र खाइसक्नुपर्छ । यो १२ घण्टाको फरकमा दुई पटक वा एकै मात्रा गरेर पनि खान सकिन्छ ।

यस्ताखाले हर्मोनयुक्त औषधि असुरक्षित यौन सम्पर्क अगाडि वा शारीरिक सम्पर्कको ७२ घण्टाभित्र गरिसक्नुपर्ने भए पनि विश्व स्वास्थ्य संगठनका अनुसार परिवार नियोजनका साधन फेल खाएको परिस्थितिमा ५ दिनसम्म पनि यी साधन प्रयोग गर्न सकिन्छ ।

नेपालमा पनि ईकोन नामक आकस्मिक गर्भ निरोधक चक्की असुरक्षित यौन सम्पर्कको १२० घण्टा (५ दिन) सम्म खान सकिन्छ । जुन एक प्याकेटमा २ चक्की हुन्छ । इमर्जेन्सी कन्ट्रासेप्सनकै रूपमा असुरक्षित यौन सम्पर्कको ७२ घण्टाभित्र माथि उल्लेखित पिल्स चक्की खान भ्याइएन भने पाँचौं दिनभित्र पाठेघरमा राखिने कपर टी राख्न सकिन्छ ।

माथि उल्लेखित पिल्स चक्कीहरूले ठ्याक्कै कसरी काम गर्छ भन्न नसके पनि असुरक्षित यौन सम्पर्कको केही घण्टाभित्रै यी औषधिहरूको सेवन गरेको खण्डमा डिम्बासयबाट डिम्ब निस्कन नदिने वा ढिलाइ गर्ने, शुक्रकिट र डिम्बबीच निषेचन हुन नदिने तथा डिम्ब र शुक्रकिटबीच निषेचित भइसकेको भए पनि पाठेघरको भित्री तहमा बस्न नदिने विश्वास गरिएको छ ।

कपर टीले शुक्रकिट र डिम्बलाई मार्नुको अलावा निषेचित भइसकेको डिम्बलाई पनि प्रतिकूल असर पु¥याउने अनुमान छ । एकैपटक धेरै मात्रामा हर्मोन पिल्स चक्की बाध्यतावश खानुपर्दा वाकवाकी लाग्ने, उल्टी हुने, पेट दुख्ने, आलस्य हुने, टाउको दुख्ने, चक्कर लाग्ने, स्तन भारी हुने हुन्छ । यदि यी औषधि खाएको दुई घण्टाभित्र उल्टी भएमा यथाशक्य चाँडो अर्को मात्रा खानु पर्दछ ।

यी साधनको प्रयोगपश्चात् केही समयसम्म अस्थायी तवरले महिनावारीमा गडबडी आउन सक्छ । डिम्ब निष्कासन हुनु अगाडि नै यी हर्मोनयुक्त पिल्स सेवन गरेको खण्डमा हल्का रगत देखिने वा महिनावारी हुन अलि ढिलो हुने हुनसक्छ ।

आपतकालीन गर्भ निरोधमा प्रयोग गरिने औषधिहरू परिवार नियोजनको प्राथमिक उपाय नभई अरू उपाय फेल खाँदाको अवस्थामा एउटा विकल्प हो । आपतकालीन गर्भ निरोधका साधनहरूले कुनै यौनजन्य संक्रमणबाट भने बचावट गर्दैन ।

यदि आपतकालीन गर्भ निरोधका प्रयोगको तीन हप्तासम्ममा पनि महिनावारी खुलेन भने गर्भ रह्यो कि भनेर जाँच गराउनु पर्छ । असुरक्षित यौन सम्पर्क अगाडि नै सतर्कता अपनाउनु वा यौन सम्पर्कको दौरान उपयुक्त साधन अपनाउनु बुद्धिमानी हुन्छ ।

तपाईको प्रतिक्रिया