गौरीगंज, १३ भदौ । गौरीगंजस्थित दन्तकाली मन्दिर व्यवस्थापन समितिले मन्दिरको दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । मन्दिर परिसरमा सञ्चालन गरिएको साधारणसभामा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देवी प्रसाद राजवंशीले वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदनमा ४ लाख ४४ हजार ६ सय १ रूपैयाँ आम्दानी खर्च रहेको सार्वजनिक गरेपनि ११ हजार ८ सय १ रूपैयाँ बैंक मौज्दात रहेको जानकारी गराएका थियो ।
त्यस अवसरमा मन्दिरका सल्लाहकार गिता पोख्रेल, समाजसेवी ज्ञान बहादुर कार्की, मन्दिरमा भजनकिर्तन गरेर सहयोग गरेका शम्भु खरेल, सतानु कोच र मन्दिरमा विशेष योगदान पुर्याए बापत मेघराज ताजपुरिया, पुजारी चन्द्र प्रसाद राजवंशीलाई दोसल्लाह ओढाई सम्मानपत्रकासाथ सम्मान गरिएको थियो ।
वार्ड नं. ३ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि मखनालमहतोले साधारणसभाकोे उद्घाटन गर्दै मन्दिर व्यवस्थापन तथा निर्माणका लागि चाहिने आवश्यक सहयोग सदैव गर्ने बताए । त्यस अवसरमा समाजसेवी विश्वराज रिजाल, वार्ड सदस्य हेमा आचार्यलगायतले मन्तव्य राखेका थिए । उपाध्यक्ष गिता यादवले स्वागत मन्तव्य राखेको कार्यक्रममा सचिव रामनारायण दासले सञ्चालन गरेका थिए ।






