गौरादह, १० भदौ । गौरादह २ हाँसखोरा स्थित सिद्धेश्वर शिवालय मन्दिरमा आज तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । हिन्दु महिलाहरुले परापूर्व कालदेखि नै मनाउँदै आएको तिज पर्व यसवर्ष पनि भव्यताका साथ मनाइएको छ । विशेष गरि विहे गरेका महिलाहरु आफ्नो जन्मघर गई सबैजना भेला भई मिठो मसिनो खाई रमाईलो सँग मनाइने यो पर्व पछिल्ला दिनमा संस्थागत र सामूहिक रुपमा पनि मनाउन थालिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी २ नं. वार्ड कमिटिले आयोजना गरेको तिज विशेष कार्यक्रममा २ नं. वडा भित्रका महिलाहरुलाई एकै ठाउँमा भेला गरि सामूहिक दर खाई नाचगान गरिएको थियो । रातो साडि चोलो हरियो चुरा गरगहनामा सजिएका महिलाहरूले तिज सम्बन्धि नेपाली लोक गितमा एकल तथा सामुहिक नृत्य गरेका थिए ।

तिज पर्बको दिन आफ्नो श्रीमानको लागि पानि पनि नखाई श्रीमानको स्वास्थ्य दिर्घायुको कामना गर्दै महिलाहरु व्रत बस्ने भएकोले पनि यो पर्वले धेरै महत्व बोकेको गौरादह नगरपालिकाकी उपमेयर गिता भेट्वालले बताउनुभयो । महिलाहरूले तिज सम्बन्धि नारि बेदनाका गितहरू गाउनुका साथै एकल तथा सामुहिक नृत्य गरेका थिए ।कार्यक्रममा सहभागी भएर नृत्य गर्ने टोलीहरुलाई नगदपुरस्कार बितरण गरिएको थियो ।

कार्यक्रममा गौरादह नगरपालिका उपमेयर गीता भेट्वाल, १ नं. वार्डका वडाध्यक्ष नगेन्द्र भण्डारी, वडा नं. २का वडाध्यक्ष हेमन्त कार्की, वडा नं. ३ का वडाध्यक्ष गजेन्द्र घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए । वार्ड नं. २ वडा कमिटि अध्यक्ष शंकर कट्टेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । जिल्ला सचिवालय सदस्य योगराज दाहाल प्रमुख अतिथि रहनुभएको थियो ।
२ नं. वडा सचिवालय सदस्य मेनुका काफ्ले ले स्वागत मन्तव्य राखेको कार्यक्रममा मन्जुु अधिकारीले कार्यक्रम संचालन गरेकि थिइन् ।






