काठमाडौं, ८ भदौ । सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा.दिव्यासिंह शाहले प्लाज्मा फेरेसिस प्रक्रियामार्फत उपचार भइरहेको जानकारी दिनुभयो । सिंगापुरको नेशनल युनभर्सिटी हस्पिटलमा उपचार गराइरहेका प्रधानमन्त्री ओलीको उपचार प्रक्रिया केही पटक दोहोरिने बताइएको छ ।
प्रधानमन्त्री ओलीको शरीरमा बढेको एन्टिबडी निष्काशन गर्न दिन बिराएर प्लाज्मा फेरिसस गर्नुपर्ने भएको छ । मिर्गौलासम्बन्धी एन्टिबडीको मात्रा बढी देखिएपछि थप उपचारका लागि प्रधानमन्त्री ओली सिंगापुर जानुभएको थियो ।
एक दिन बिराएर यो उपचार प्रक्रिया शुरु गरिएको छ । शुक्रबारको पहिलो सेसनपछि सकारात्मक प्रभाव परेकोले दोस्रो सेसनअन्तर्गत आइतबार पनि फेरेसिस गर्ने कार्यक्रम रहेको छ । उपचार प्रक्रिया लम्बिने भएकोले कम्तीमा १० दिने ओली सिंगापुरमै रहने बताइएको छ ।






