Online Bichar
शनिबार, जेठ ०५, २०८१ | Saturday, May 18, 2024

इनरुवा,  १  भदौ  ।  दशगजा क्षेत्रमा कुनै पनि संरचना निर्माण गर्न नपाइने अन्तर्राष्ट्रिय नियम मिचेर भारतले सुनसरीसँग सीमा जोडिएको भाण्टाबारीमा प्रवेशद्वार निर्माण गरेको छ ।

भाण्टाबारीको तिनकुने भन्ने स्थानमा भिमनगर जाने सडकलाई लक्षित गरी भारतीय पक्षले प्रवेशद्वार निर्माण गरी संचालनमा ल्याएको छ । भारतले सीमा स्तम्भ रहेको मैत्रीपोखरीको सामुन्नेमै प्रवेशद्वार बनाएको हो ।

सीमासम्बन्धी अन्तर्राष्ट्रिय नियमअनुसार सीमा स्तम्भ रहेको स्थानबाट दुवै देशतर्फको दश मिटर क्षेत्रमा बसोबास र भौतिक पूर्वाधार निर्माणको कार्य गर्न पाइदैन, चाहे त्यो स्थायी होस् वा अस्थायी संरचना नै किन नहोस् । तर भारतीय पक्षले भने सशस्त्र सीमा सुरक्षा बलको यूनिट सामुन्नेमै प्रवेश द्वार बनाएर संचालनमा ल्याएको छ ।

पक्की कंक्रिट संरचना तयार गरी बनाईएको स्वागत द्वारमा निलो र रातो रङभित्र सेतो अक्षरले हिन्दी र अंग्रेजीमा ‘भारतमे आपका स्वागत है’ भन्ने शब्दलाई ठूलो अक्षरमा लेखिएको छ । त्यसको तल्लो भागमा भारतीय सीमा शुल्क स्थल भिमनगर लेखिएको छ ।

अन्तर्राष्ट्रिय नियम र दुई देशबीचको सहमतिविपरीत भारत सरकारका तर्फबाट दशगजा क्षेत्रमा सो संरचना निर्माण गरिएको सीमा जानकारहरु बताउँछन् । स्थानीयहरु समेत भारतीय पक्षले बनाएको प्रवेशद्वार दशगजा मिचेर बनाइएको दाबी गर्छन् ।

संरचना निर्माणताका भारतीय पक्षले आफुहरुलाई जानकारी नदिएको र कुनै पनि समन्वय नगरेको बताउने सशस्त्र प्रहरीले सो विषयमा तत्कालीन अवस्थामै माथिल्लो निकायमा जानकारी गराइएको बताएको छ ।

यद्यपि भाण्टाबारीमा रहेको सशस्त्र सीमा सुरक्षा बलले भारतीय पक्षले निर्माण गरेको प्रवेशद्वार दशगजाभन्दा बाहिरको क्षेत्रमा रहेको जनाएको छ । सीमा सर्भेका क्रममा खटिएको टोलीले समेत उक्त संरचना दशगजा बाहिर पर्ने बताएको सशस्त्रको भनाई छ ।न्यूज२४

तपाईको प्रतिक्रिया