Online Bichar
शनिबार, जेठ ०५, २०८१ | Saturday, May 18, 2024

काठमाडौं,  ३०  साउन  ।  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालयको बैठक बिहीबार पनि स्थगित भएको छ। बिहीबार दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बस्ने भनिएको बैठक स्थगित भएको हो।

पार्टीको जिम्मेवारी बाँडफाँडमा देखिएको समस्या समाधानमा बैठक केन्द्रित हुने बताइएको थियो। विवादका विषयमा लामो समयसम्म छलफल भए पनि कुरा नमिल्दा बैठक स्थगित भएको हो। नेकपामा स्कुल विभाग तथा अन्य विवादित विषयमा सहमति जुटाउन नेताहरुलाई सकस भएको छ।

नेकपामा पोलिटब्यूरो गठन, विभाग गठन, केन्द्रीय कमिटीको कार्यविभाजन, जनवर्गीय संगठनको कमिटीलाई पूर्णता दिनेलगायत विषयमा सहमति हुन बाँकी छ।
नेकपामा स्कुल विभाग विवादमा छ। यसमा सचिवालय सदस्य ईश्वर पोखरेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य घनश्याम भुसाल र वेदुराम भुसाललगायतको दाबी गरेका छन्।

साउन १३ पछि नेकपा सचिवालय बैठक बस्न सकेको छैन। प्रधानमन्त्री विदेश भ्रमणबाट फर्किएपछि पटकपटक बैठक स्थगित भएको छ। यसअघि साउन २८ र २९ गते बोलाइएको बैठकसमेत अन्तिम समयमा स्थगित भएको थियो। बिहीबारको बैठक प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण बस्न नसकेको नेकपा स्रोतले बताएको छ। शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको छ।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया