Online Bichar
सोमबार, बैशाख ०७, २०८३ | Monday, April 20, 2026

काठमाडौं,  ३०  साउन  ।  चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको लागि ३ जनाको नाम सिफारिस भएको छ । उपाध्यक्ष सिफारिस समितिले प्रा. डा. सुरेन्द्र शेरचन, शम्भुकुमार पहारी र श्रीकृष्ण गिरीको नाम सिफारिस गरेको हो । उनीहरुको नाम क्रमशः पहिलो, दोस्रो र तेस्रो वरीयतामा सिफारिस गरिएको समिति निकट स्रोतले जनाएको छ ।
आयोगको उपाध्यक्षका लागि ११ जनाले दरखास्त दिएका थिए। ती मध्ये ३ जनाको नाम प्रधानमन्त्री तथा आयोगका अध्यक्षलाई सिफारिस गरिएको हो। तीनै मध्येबाट एक जनालाई उपाध्यक्ष नियुक्त गर्नुपर्ने प्रावधान चिकित्सा शिक्षा ऐनमा उल्लेख छ।

पहिलो पटकको दरखास्त आह्वान रद्द गर्दै साउन २० गते दोस्रो पटक दरखास्त माग गरिएको थियो। पहिलो पटक ६ जनाले आवेदन दिएका थिए। दोस्रो पटक दरखास्त दिएका ११ जनामध्ये प्रमोदकुमार सर्राफ र जेएन पाण्डेयको दरखास्त सिफारिस समितिले सुरुमै रद्द गरिदिएको थियो। बाँकी ९ जनाको दरखास्त स्वीकृत गर्दै समितिले अन्तरवार्ताका लागि डाकेको हो।

उनीहरुको मंगलबार र बुधबार अन्तरवार्तासहित सिफारिस समितिले प्रस्तुति लिएको थियो। प्रा.डा. रमेशप्रसाद सिंह, पारसकुमार पोखरेल, तरुण पौडेल, यहुनचन्द्र सिवाकोटी, श्रीकृष्ण गिरी, शम्भुकुमार पहारी, राजेन्द्रप्रसाद साह र सुरेन्द्र शेरचनलाई अन्तरवार्ताका लागि डाकिएको हो। तीमध्ये शेरचन, पहारी र गिरी सिफारिस भएका हुन्।

सरकारले आयोग गठन प्रक्रिया अघि बढाएपछि लोकसेवा अयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति गठन गरेको थियो। सोही समितिले अन्तरवार्तासँगै कार्ययोजनासम्बन्धी प्रस्तुति हेरेर आवेदकमध्येबाट ३ जना सम्भावित उम्मेदवारहरुको नाम सरकारसमक्ष सिफारिस गरेको जनाएको छ।

उपाध्यक्ष आयोगको कार्यकारी प्रमुख रहने व्यवस्था ऐनमा छ। आयोगले पूर्णता नपाउँदा चिकित्सा शिक्षासम्बन्धी एकीकृत प्रवेश परीक्षा, शिक्षण संस्थाको नियमन, अनुगमन र व्यवस्थापन, शुल्क निर्धारण लगायतका काम प्रभावित बनेको छ।कान्तिपुर

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments