Online Bichar
सोमबार, चैत्र ३०, २०८२ | Monday, April 13, 2026

झापा,  २४   साउन  ।  देवानी संहिता २०७५ लागू भएपछि झापा जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्ने पुरुषको सङ्ख्या बढेको छ । २०७५ भदौ १ गतेदेखि लागू भएको देवानी संहितापछि जिल्ला अदालतमा ३०४ वटा सम्बन्धविच्छेदका मुद्दा पुरुषले दर्ता गराएको तथ्याङ्कले देखाएको छ ।

देवानी संहिता लागू भएपछिको ११ महीनाको अवधिमा मात्र सम्बन्धविच्छेदका ८१८ मुद्दा दर्ता भएको अदालतको तथ्याङ्कमा छ । महिलातर्फ ५१४ र पुरुषले ३०४ मुद्दा दर्ता गराएको अदालतका श्रेस्तेदार दुर्गाप्रसाद खनालले बताउनुभयो ।

उहाँका अनुसार गत आर्थिक वर्ष २०७५/७६ मा पुरुषको तर्फबाट सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्न पाउने कानूनी प्रावधानपछि महिलाकै हाराहारीमा पुरुषको तर्फबाट मुद्दा दर्ता गर्नेको सङ्ख्या बढ्दै गएको छ ।

गत आव २०७४/७५ बाट जिम्मेवारी सरेर आएकासमेत गरी आव २०७५/७६ मा चार हजार ६६५ वटा विभिन्न प्रकारका मुद्दा दर्ता भएका थिए । दर्ता भएकामध्ये दुई हजार ६८३ मुद्दा फैसला भइसकेका छन् । सम्बन्धविच्छेदका मात्र ४०३ वटा मुद्दा फछ्र्योट भइसकेको अदालतका श्रेस्तेदार खनालले बताउनुभयो ।

सम्बन्धविच्छेद मुद्दामा अहिलेको नयाँ कानूनी व्यवस्थाले एकतर्फी वा दुवै पक्ष मुद्दामा उपस्थित नभएका मुद्दालाई एक वर्षसम्म नटुङ्गिने भएकाले सकेसम्म दुवै पक्ष मिलेर जाउन भन्ने उद्देश्यले सम्बन्धविच्छेदको हकमा ८० प्रतिशत मुद्दा मेलमिलापबाट नै टुङ्गो लगाइएको उहाँको भनाइ छ ।

वैदेशिक रोजगारीका कारण सम्बन्धविच्छेदका मुद्दा बढी आउने गरेको वरिष्ठ अधिवक्ता तथा झापा बार एकाइका अध्यक्ष लेखनाथ निरौलाले बताउनुभयो । उहाँले अहिलेको कानूनमा पुरुषले सहजै अदालत गएर सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न सक्ने कानून बनेपछि यसको सङ्ख्यामा वृद्धि भएको बताउनुभयो ।न्यूज२४

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments