Online Bichar
मंगलबार, बैशाख ०८, २०८३ | Tuesday, April 21, 2026

वीरगञ्ज,  २४  साउन ।  प्लास्टिकको चामल बिक्री वितरण गरेको आरोपमा वाणिज्य कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका–११ रानिघाटस्थित राज लक्ष्मी खाद्यान्न भण्डारमा छापामारी दुई बोरा चामल आफ्नो नियन्त्रणमा लिएको छ ।

छिमेकी मुलुक भारतमा निर्मित जीराशक्ति र रिपुराज भन्ने चामलमा प्लास्टिकको चामल मिसाइएको भनेर उपभोक्ताले दिएको उजुरीका आधारमा वाणिज्य कार्यालय, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले सो खाद्यान्न भण्डारमा छापामारी अनुसन्धानका लागि दुई बोरा चामल नियन्त्रणमा लिएको हो ।

टोलीले अनुसन्धान भइरहेको भन्दै गोदाम सिल गरेको छ ।

उपभोक्ताहरुको स्वास्थ्यमाथि खेलबाड गर्ने व्यापारीहरुलाई कारवाही गरिने भन्दै पर्साका प्रजिअ नारायणप्रसाद भट्टराईले गलत गर्ने व्यापारीहरुको विरुद्धमा उपभोक्ताहरु जागरुक हुनुपर्ने बताए ।

प्लास्टिकको चामलको प्रयोगले क्यान्सर जस्ता गम्भीर रोग लाग्ने भएकाले यस्ता चामलको प्रयोगबाट टाढा रहन चिकित्सकहरुले सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।

तीन करोडको माछा नष्ट

असारको अन्तिम साता आएको बाढीबाट बारा जिल्लास्थित माछा सुपरजोनमा रु तीन करोड ३० लाख २४ हजार ७१३ मूल्य बराबरको माछा नष्ट भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम लागू भएको बारा जिल्लाको सिमौनगढ नगरपालिका, पचरौता नगरपालिका, आदर्शकोतवाल गाउँपालिका, महागढीमाई नगरपालिका, देवताल गाउँपालिका तथा सुवर्ण गाउँपालिकाको विभिन्न वडामा रहेको माछापोखरीमा बाढीको पानी पस्दा सो मूल्य बराबरको माछा क्षति भएको वरिष्ठ कृषि अधिकृत गणेश मिश्रले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम अन्तर्गत माछा सुपरजोनका ८२ दशमलव १ हेक्टर क्षेत्रफल बाढीले कटान गरेको थियो । माछाको उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले सङ्घीय सरकारले आर्थिक वर्ष २०७३/०७४ सालदेखि यस जिल्लामा उक्त कार्यक्रम लागू गरेको हो । सो कार्यक्रमलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउन सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि दुई करोड रु ९३ लाख ८२ हजार बजेट विनियोजन गरेको छ । जसअन्तर्गत ४० हेक्टर क्षेत्रफलमा नयाँ पोखरी निर्माण गर्नाका साथै साना सिँचाई लगायतका काम गरिने सो कार्यालयले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments