काठमाडौं, २३ साउन । भारत प्रशासित कश्मिरमा लगाईएका विभिन्न प्रतिबन्ध प्रति संयुक्त राष्ट्रसंघले चिन्ता ब्यक्त गरेको छ । त्यहाँ मानव अधिकारको अवस्था दयनीय बन्न सक्ने भन्दै राष्ट्रसंघले गहिरो चासो ब्यक्त गरेको हो । कश्मिरलाई प्रदान गर्दै आएको विशेषाधिकार खोस्ने र प्रत्यक्ष शासन गर्ने भारत सरकारको निर्णय लगत्तै त्यहाँ आईतबारदेखि सबै प्रकारका सञ्चार सेवा बन्द गरिएको छ । यस्तै, ठूलो संख्यामा स्थानीय नेताहरु पक्राउ परेका छन् भने र राजनीतिक भेलामा समेत प्रतिबन्ध लगाइएको छ ।
संयुक्त राष्ट्रसंघका प्रबक्ताले भिडियो जारी गर्दै नयाँ प्रतिबन्धले जम्मु कश्मिरको भविष्यबारे त्यहाँका बासिन्दालाई बहस गर्ने अधिकार खोसिएको उल्लेख गरेका छन् । उनले कश्मिरको विषयमा राष्ट्रसंघले अध्ययन गरिरहेको समेत बताएको बीबीसीले उल्लेख गरेको छ । भारत र पाकिस्तान दुवैले कश्मिर माथि दाबी गर्दै आएका छन् ।
यसैबीचमा भारतले कश्मिरलाई विशेषधिकार प्रदान गर्ने संविधानको २ सय ७० अनुच्छेद संशोधनको निर्णय गरेपछि यसले अन्तर्राष्ट्रिय जगतको समेत ध्यान तानेको छ । पाकिस्तानले भारत सरकारको सो निर्णयको बिरोध गर्दै आएको छ । यसैबीच, राजनीतिक दलका ३ सय नेतालाई कश्मिरमा पक्राउ गरिएको रोयटर्सले उल्लेख गरेको छ । ठूलो संख्यामा भारतीय अर्धसैनिक तैनाथ गरिएको छ ।






