Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

काठमाडौं,  २३  असार  ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप)को नयाँ सदस्य सचिवको रुपमा रमेश सिलवाल नियुक्त हुनु भएको छ ।

युवा तथा खेलकुद मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा सिलवाललाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले नियुक्ति पत्र प्रदान गर्दै पद तथा गोपनियताको सपथ पनि दिलाउनु भएको थियो । केशवकुमार बिष्टको चारबर्षे कार्यकाल असार नौ गते सकिएपछि सरकारले सिलवाललाई खेलकुदको कार्यकारी पदको जिम्मेवारी दिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सिलवाललाई खेलकुदको नेतृत्व गर्ने जिम्मेवारी सहित सदस्य सचिवको रुपमा प्रस्ताव गर्नुभएको थियो ।

सिलवाल निजी विद्यालयहरुको छाता संगठन हिसानका अध्यक्ष समेत हुन् । नेकपा निकट खेलकुद संस्था मदन भण्डारी स्पोर्ट्स फाउन्डेसनका संस्थापक अध्यक्ष उनी गोल्डेन गेट कलेजको प्रमुख कार्यकारी अधिकृत सिइओ पनि हुन् । सिलवाल नेपाल क्रिकेट संघ (क्यान) लाई आईसीसीले निलम्बन गर्नु अघि राखेपद्वारा गठित क्यान तदर्थ समितिका संयोजक समेत भएका थिए ।

राष्ट्रिय खेलकुद ऐन संसदमा विचाराधीन रहेकोले सिलवालले पुरानै प्रक्रिया अनुरुप नियुक्ति पाएका हुन् । खेलकुदमा खुला प्रतिष्पर्धाबाट सदस्य सचिव ल्याउने तयारी प्रस्तावित ऐनमा गरिएको छ । तर खेलकुदमा लामो समयदेखि जुन दल सरकारमा छ उसैको कार्यकर्तालाई सदस्य सचिव बनाउने परम्परा रहदै आएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments